‘कठपुतली’ पुष १५ गतेबाट प्रदर्शनमा आउने



काठमाडौँ। तिहारमा प्रदर्शन भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गरिरहेका छन् । यसैक्रममा, हरर जनरामा निर्माण भएको नेपाली चलचित्र ‘कठपुतली’ ले पनि प्रदर्शन मिति घोषणा गरेको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर आउँदो पुष १५ गते (डिसेम्बर ३०) लाई निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।

तमु ल्होसारको सार्वजनिक विदा भएकाले चलचित्र बिहीवारबाटै प्रदर्शनमा आउनेछ । सार्वजनिक विदामा फिल्म प्रदर्शन गर्न पाइने व्यवस्था छ । यसैले निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदालाई मध्यनजर गर्दै चलचित्र प्रदर्शन गर्न लागेको हो । सम्पदा मल्लले लेखेको चलचित्रका निर्देशक भिमसेन लामा हुन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल चलचित्र फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना मगर निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सम्पदा मल्ल, सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको हो । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’ अन्य हरर चलचित्रभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरेका छन् । यो चलचित्रका सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर चलचित्र अन्तर्गत ‘बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ समेत जितेका छन् ।