अभिनेत्री आँचल शर्मा ‘झिँगेदाउ’मा गाउँले भूमिकामा


सेलिब्रेटी नेपाल

काठमाडौं: ज्ञानेन्द्र देउजाको निर्देशनमा चलचित्र ‘झिँगेदाउ’ को धमाधम छायांकन भइ रहेको छ । काभ्रेको भकुन्डेमा इनडोर छायांकनका लागि सेट निर्माण गरिएको छ । खोटाङको हलेसीमा छायांकन सकेर निर्माण टिम भकुन्डेवेसी झरेको हो । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो । चलचित्रका निर्माता निर्देशक देउजा स्वयं हुन् ।

अभिनेत्री आँचल शर्मा चलचित्र ‘झिँगेदाउ’ को छायांकनमा व्यस्त छिन् । यसमा उनले गाउँले भूमिका निभाएकी छन् । आइतबार निर्माण टिमले अभिनेत्री आँचलको लुक्स सार्वजनिक गरेको छ । जसमा उनलाई निकै फरक गेटअपमा देख्न सकिन्छ । सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते, सातो रंगको साडी र गुन्यू चोलीमा देखिएकी उनले कम्मरमा पटुकी बाँधेकी छन् । त्यस्तै, हातमा हँसिया र गाईवस्तुका लागि पिठ्युमा घाँसले भरिएको डोको बोकेकी छन् ।

चलचित्रमा उनले विवाहित महिलाको भूमिका निभाएकी छन्, जो विकट गाउँमा बस्छिन् । पहिलो पटक फरक भूमिका निर्वाह गर्न पाएकी उनी आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छिन् । चलचित्रमा उनको जोडी ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निभाएका मुकुन्द भुषालसँग बाँधिएको छ ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको चलचित्रको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । चलचित्रलाई विष्णु कल्पितले खिचिरहेका छन् ।