ईन्द्र रामजाली ‘काले दाई’ बाट डेब्यु गर्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली चलचित्र क्षेत्रमा लागेर नाम र दाम कमाउने उदेश्यले यस क्षेत्रमा प्रवेश गर्ने युवा युवतीको कमि छैन। चलचित्र ‘काले दाई’ मार्फत आयुर्वेदिक पसल संचालन गर्दै आएका ईन्द्र रामजालीले डेब्यु गर्दैछन् । चलचित्र क्षेत्रमा सानै देखिको रुचिको कारण रामजाली चलचित्रमा प्रवेश गरेका हुन् । यो चलचित्रको प्रतिक्रिया पश्चात अन्य चलचित्रमा पनि काम गर्दै जाने उनको योजना रहेको छ ।

बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’ले नेपाल सेनामा कार्यरत युवाको कथा बोल्छ । शिव शर्माले निर्देशन गरेको चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ। अन्तर्जातीय प्रेम कथा पनि चलचित्रले उठाउन खोजेको छ ।

चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ। चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।