प्रदर्शनरत चलचित्रलाई पब्लिसिटीमा बोर्डले सहयोग गर्ने



काठमाडौँ । कोरोना भाइरस जोखिमका कारण गत फाल्गुन दोश्रो सातादेखि फिल्म क्षेत्र सुन्य अवस्थामा छ । चैत्र ९ गतेदेखि देश लकडाउनमा छ । कतिपय क्षेत्रलाई खुकुलो बनाएर सावधानीका साथ संचालन गर्न प्रशासन ले अनुमति दिएको छ । तर फिल्म क्षेत्रमा आम मानिसको भिड केन्द्रित हुने कारण यसको कुनै पनि फ्याक्ट खुल्न सकेको छैन ।

सुटिङमा रहेका फिल्महरु रोकिएका छन् । रिलिजका लागि तयार फिल्महरु कोभिडको अन्त्यको प्रतिक्षामा छन् । नयाँ फिल्म सुटिङमा जान सकेको छैन । हलहरु पूर्ण रुपमा बन्द छ ।

फिल्म क्षेत्र पूर्ण बन्द हुदाँ श्रमजीवि फिल्मकर्मीहरु समस्यामा परेका छन् । केही फिल्मकर्मी र सम्बन्धित निकायले केही राहत प्याकेजहरु वितरण गरेपनि लामो समयसम्म कोभिडको असर हुदाँ थप समस्यामा श्रमजीवि फिल्मकर्मी छन् ।

चलचित्र विकास बोर्ड, रिलिजका लागि तयार भएर रोकिएका फिल्महरुको लागि विशेष राहत प्याकेज ल्याउने तयारीमा पुगेको छ । कोभिडको न्युनिकरणसँगै सरकारले लकडाउन हटाउने बितिकै विशेष निर्देशिका सहित फिल्म क्षेत्र खोल्ने तयारीमा चलचित्र विकास बोर्ड रहेको छ ।

लगतै फिल्म क्षेत्र खोलिहाल्ने र निर्देशिका अनुसार हल खोल्ने र सुटिङ गर्न दिने तयारीमा बोर्डले आन्तरिक तयारी सम्पन्न गरेको छ । सरकारको निर्णय कुरेर बसिरहेको बोर्डले रिलिजको लागि तयार फिल्महरुको लागि पनि विशेष प्याकेज बनाएको छ ।

जसको लागि बोर्डले निर्माता संघसँग समस्यामा परेका फिल्महरुको सूची मागेको थियो । निर्माता संघले समस्यामा परेका र नपरेका समेत गरेर झण्डै ६३ फिल्महरुको सूची बुझाएका थिए ।

हल खुलेर ६ महिना भित्र रिलिज हुने फिल्महरुको लागि बोर्डले प्रचारमा पूर्ण सहयोग गर्ने तयारी थालेको बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । फिल्म रिलिजका लागि आवश्यक पोष्टर, फ्लेक्स, ब्यानर सबै बोर्डले नै प्रायोजन गर्ने छ । विभिन्न सर्भरमा फिल्म ईन्कोड गर्दा लाग्ने खर्च समेत बोर्डले बेहोर्ने तयारी भएको अध्यक्ष दाहालले बताए ।

यस्तै फिल्म हलमा लगाउँदा लाग्ने प्रति शो को खर्च समेत बोर्डले ब्योहोर्ने तयारी बोर्डको छ । बोर्डले यस बाहेक उपत्यकाका महानगर र नगरसँग सहकार्य गरि ६ महिनासम्म नेपाली फिल्मको ब्यानर तथा फ्लेक्सहरु सबै आकाशे पुलमा राख्न पहल गरेको छ ।

यस्तै बोर्डले नेपाल टेलिभिज, रेडियो नेपाल र गोरखापत्रमा समेत सहुलियत विज्ञापनको लागि पहल गरेको छ । त्यसरी ६ महिना भित्र रिलिज हुने फिल्मको लागि मात्र न्युतम सहुलियत दरमा विज्ञापन सरकारी मिडियामा हुने गरि पहल बोर्डले थालेको हो ।

सरकारले लकडाउन अन्त्य गरेसँगै बोर्डले फिल्म क्षेत्र खोल्न विशेष भुमिका खेल्नेछ । त्यस लगतै विभिन्न निर्देशिकाहरु सहित सुटिङ शुरु गर्ने, हल खोल्ने, फिल्म रिलिज गर्ने प्रक्रिया अगाडी बढाउँनेछन् । जसको लागि रिलिजका लागि तयार फिल्मका निर्माताहरुलाई बोर्डले यस वारेमा सूचना जारी गर्ने जनाइएको छ ।