फिल्मसिटीका लागि प्रदेश १ मा २ सय बिघा जग्गाको प्रस्ताव



काठमाडौँ। सुनसरीको वराहक्षेत्र नगरपालिकाले फिल्म सिटीका लागि २ सय बिघा जग्गा प्रदान गर्न सहमत भएपछि चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययनका लागि गठित समितिले प्रदेश १ सरकारमा प्रतिवेदन बुझाएको छ ।

नेपाल सरकार चलचित्र विकास बोर्डद्वारा गठित समितिले प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की समक्ष आफ्नो अध्ययन प्रतिवेदन बुझाएको हो ।

चलचित्र विकास बोर्डको स्वीकृत मापदण्ड बमोजिम बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ क्षेत्र भित्रमा पर्ने श्रीलंका टापु आसपासको क्षेत्रलाई समितिले सबैभन्दा उपयुक्त क्षेत्र पहिचान गरेको प्रदेश स्तरीय चलचित्र छायांकन स्थल निर्माणको सम्भाव्यता अध्ययन समन्वय तथा संयोजन समितिका संयोजक नवल खडकाले जानकारी दिए ।

‘प्रदेश १ का धेरै स्थानको स्थलगत अध्यन गर्यौं,’ समिति संयोजक खड्काले भने,‘अन्य स्थानको तुलनामा बढी जग्गा र सबै हिसाबले उपयुक्त भएको ठहर गरेपछि मात्र हामीले यो स्थान छनोट गरेका हौं ।’

छायांकन स्थलको निर्माणपछि प्रदेश १ लाई छुट्टै चलचित्र क्षेत्रको रुपमा स्थापित गराउन मद्दत पुग्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष तथा समितिका सदस्य अरुणकुमार प्रधानले बताए ।

यस अघि झापा, मोरङ, सुनसरी, इलामलगायतका विभिन्न स्थानको अवलोकनपछि सप्तकोशी नदीको किनारमा रहेको वराहक्षेत्र धार्मिक, पर्यटकीय, आन्तरिक हवाइ क्षेत्र, यातायातको सुविधा र स्थान उपलब्धताको हिसाबले सबैभन्दा उपयुक्त भएको महासंघका अध्यक्ष प्रधानले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले फिल्मीसिटीको अवधारणाले प्रदेश १ पर्यटन र लगानीको दृष्टिले थप आकर्षणको केन्द्र हुने बताए । उनले आगामी नीति तथा कार्यक्रममा योजनालाई समावेश गराएर उच्च प्राथमिकताका साथ छायांकनस्थल निर्माण कार्य तीव्र गतिमा अघि बढाउने बताए ।

चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययनका लागि गठित समितिमा संयोजकमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सहसंयोजकमा प्रेम सुब्बाल छन् । सदस्यहरूमा दिपाश्री निरौला, दयाहाङ राई, राजकुमार पोखरेल, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव युवराज खतिवडा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत विजयकुमार मगर, सचिवमा चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई, नवल खडका रहेका छन् ।

बोर्डबाट नियुक्त स्थानीय सहजकर्तामा केशव रायमाझी, दुर्गा नेम्वाङ, केवल तामाङ छन् । प्रदेश सरकारबाट सिफारिस भएका प्रतिनिधिहरुमा मणि लिम्बू (विजय सुब्बा), ध्यानबहादुर सुब्बा, हिमाल दाहाल र नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुणकुमार प्रधान छन् । विशेष सहयोगीमा पत्रकार भीषण राई रहेका छन् ।