को होला एभरेष्टको ‘बा’?



काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहोराले कुशे औसी अर्थात् बाबुको मुख हेर्न दिनको अवसर पारेर गत भदौ ३ गते चलचित्र विकास बोर्डमा चलचित्र ‘बा’ दर्ता गरेका छन् । कोरोनाको प्रभाव कम भएपछि मंसिरमा छायांकन थालिने चलचित्रमा बाबुको संघर्ष, त्याग, बलिदान र समर्पणको महिमा प्रस्तुत गरिनेछ ।

निर्देशक बोहोराले कोरोनाका कारण देश लकडाउनमा रहेका समयमा आफूले सिर्जनशील कार्य र पीडितहरुको सेवा गरिरहँदा ‘बा’को कन्सेप्ट तयार पारेको बताए । एभरेष्ट सूर्य बोहोरा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका लागि कलाकारको छनोट कार्य भइरहेको छ ।

चलचित्र आगामी वर्षको कुशे औसी अर्थात बाबुको मुख हेर्ने दिनमा रिलिज गर्ने योजना बोहोराको छ । निर्देशक बोहोरालाई पटकथा र सह–लेखनमा अभिमन्यु निरवीले साथ दिएका छन् । लमजुङ र मनाङका विभिन्न स्थानमा खिचिने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । चलचित्रका गीतमा राजनराज शिवाकोटी, यम बराल र एलिस कार्कीको संगीत रहने छ ।

‘आमालाई धर्ती मान्नेले बाबुलाई कहिल्यै आकाश मानेनन्’, निर्देशक बोहोरा भन्छन्,‘वर्षाैदेखि मलाई यो कुराले झक्झक्याइ रहेको छ । त्यसैले बाबुको योगदान र महत्वलाई दर्शाउन खोजेको छु ।’ बोहोरा निर्देशित पछिल्लो चलचित्र‘हेलो जिन्दगी’ हाल लण्डनको क्रियटिभ फाइभ र नेपालको सिनेजोन स्टुडियोमा पोस्ट प्रोडक्सन कार्य अन्तिम चरणमा पुगेको छ । निर्देशक बोहोरा अन्तराष्ट्रिय उडान खुल्नासाथ चलचित्रको बाँकी दुई गीत छायांकनका लागि टोलीसहित लण्डन उड्ने योजनामा छन् ।