हलमा तीन अभिनेता अनुप बिक्रम,सबिन र गौरवको परिक्षा


सेलिब्रेटी नेपाल

काठमाडौँ:फ्राइडे रिलिज अन्तर्गत यस हप्ताका लागि शुक्रवारबाट सम्राट सापकोटा निर्देशित चलचित्र ‘कप्स’, मदन घिमिरेको ‘काउसो’ र दीपक ओली निर्देशित चलचित्र ‘कुम्भ करण’ ले प्रदर्शन आरम्भ गरेका छन् । ‘कप्स’ एक्सन प्रधान चलचित्र हो भने ‘काउसो’ र ‘कुम्भ करण’ कमेडी जनराका चलचित्र हुन् ।

चलचित्र ‘कप्स’ मा अभिनेता अनुप विक्रम शाही लिड रोलमा छन् । प्रायः नेगेटिल रोल गर्न रुचाउने उनले यसमा भने कर्तव्यनिष्ठ एक प्रहरीको भूमिका निभाएका छन् । सन्दिपा लिम्बु, अनुपा भट्टराई, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापालगायतका कलाकारहरुको पनि यस चलचित्रमा अभिनय छ । सुशान्त प्रजापतिले चलचित्र खिचेका हुन् ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको ‘कप्स’ मा अष्ट महर्जनको द्वन्द छ । चलचित्रले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सापकोटा बताउँछन् । एक्सन र लभस्टोरी जनरामा बनेको चलचित्रमा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले चलचित्रको सम्पादन गरेका छन् ।

कमेडी कथावस्तुमा निर्माण भएको चलचित्र ‘काउसो’ मा भने एक्सन हिरोको रुपमा आफूलाई स्थापित गरेका सविन श्रेष्ठ प्रमुख भूमिकामा छन् । अर्जुन गुरुङ, अनु पराजुली,रमेश बुढाथोकी, रामचन्द्र अधिकारीलगायतको चलचित्रमा अभिनय छ । रामेश्वर हुमागाईँको छायांकन रहेको चलचित्रका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् । भने, निर्माताहरु राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक र भगवान खत्री हुन् । कार्यकारी निर्माता अन्चिला केसी हुन् ।

चलचित्र ‘कुम्भ करण’ मा नीशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायतको मुख्य भूमिका छ । आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रोम वली हुन् । भने, क्षितिज बस्नेत र खड्क वुढाथोकी निर्माता हुन् । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद छ । चलचित्र हरी लामाले खिचेका हुन् ।