छवि–शिल्पाबीच सहमति


काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबिच सहमति भएको छ । बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उनिहरुले एकले अर्कालाई कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएका हुन् ।

परिसरका प्रवक्ता होबिन्द्र बोगटीमन अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । उनले शिल्पासंग माफी पनि मागेका थिए ।

अभिनेत्री शिल्पाले छविवाट आफूलाई सुरक्षा थे्रट भएको भन्दै गत सोमबार जिल्ला प्रशासनमार्फत् प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा दुवै पक्षबिच सहमति भएको हो । यद्यपी यो सहमतिपछि उनिहरु संगै बस्छन्/बस्दैनन् भन्नेबारे स्पष्ट छैन् ।

म्युजिक भिडियोमा जमिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’बाट सिने नगरीमा भित्रयाएका थिए । ‘लज्जा’गरेपश्चात नै उनिहरु प्रेममा रहेको चर्चा चलेको थियो ।

केही वर्षको प्रेमपश्चात २०७३ सालको असारमा यी दुईले गोप्य रुपमा बिहे गरेका थिए । तर, लामो समय यी दुईले आफ्नो बिबाहलाई लुकाएका थिए । गत वर्ष मात्र निर्माता छविराजले आफूहरुले बिबाह गरेको बताएका थिए ।

शिल्पा छविराजको चौथो श्रीमतिका रुपमा भित्रिएकी हुन् । रेखा थापा छविको तेस्रो श्रीमती थिईन् । शिल्पाले छविराजको ‘हवल्दार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा अभिनय गरेकी छिन् ।

छवि र शिल्पाको सम्बन्ध केही दिनयता चिसिएको थियो । छविले आफूलाई कुटपिट गरेको शिल्पाको आरोप थियो । यता छवि भने आफूले शिल्पामाथि कुनै किसिमको हिंसा नगरेको दाबी गरेका छन् ।