हलमा ‘छक्का पन्जा ४’को ट्रेलर, चलचित्र कहिले हेर्न पाइने ?



काठमाडौं । कोभिड १९ कोरोना महामारी र लक डाउनका कारण बन्द भएका हल खुलेका छन्। बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएसँगै हलमा दर्शकको चाप उच्च देखिएको छ । प्रदर्शनको पहिलो र दोश्रो दिन दर्शकको उपस्थितिले हल व्यवसायी तथा चलचित्रकर्मीमा खुसीको माहोल छाएको छ।

निर्माण भएर प्रदर्शनको लागि तयार भएका दर्जनौं चलचित्रका निर्माता चलचित्र कहिले प्रदर्शन गर्ने अन्योलमा छन् । तर, छायांकन नै सुरु नगरिएको चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर भने गत शुक्रबारबाट हलमा बज्न थालेको छ ।

चलचित्रको ट्रेलरमा दीपकराज गिरी, केदार घिमिरे,बुद्दि तामाङ र दीपाश्री निरौलालाई देखाइएको छ । निर्माता तथा कलाकार दीपक भन्छन्, ‘हामीले ट्रेलरको छायांकन नै गरेका हौं । दर्शकलाई अब नेपाली चलचित्रको चहलपहल पनि शुरु भएको छ हैं भन्ने सन्देश दिन पनि यो तरिका अपनाएका हौं ।’ अब दुई महिनामा छायाँकनमा तयारी रहेको र चलचित्र अर्को बर्षको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको पनि गिरिले सेलिब्रेटी नेपाललाई बताए।

दीपकले चलचित्रको ट्रेलरले पाएको प्रतिक्रिया बाट सन्तुस्ट रहेको पनि बताए । ‘दर्शकले हाम्रो चलचित्र हेर्न नपाएको २ बर्ष भयो हामि पनि यसै क्षेत्रमा छौं काम गर्दै छौं भन्ने सूचना दिने उदेश्यले पनि निर्माण पहिले नै ट्रेलर सार्वजनिक गरिएको हो’ गिरि बताउछन्।