विराजको कमब्याक सुखद, ‘साङ्लो’ हेर्न सिंगल स्क्रिनमा दर्शकको भिड


सेलिब्रेटी नेपाल

काठमाडौँ: विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार र शनिबार चलचित्रको व्यापार राम्रो रहेको वितरक गोपालकाजी कायस्थले जानकारी दिए । शुक्रबार अलनेपाल ५५ प्रतिशत अकुपेन्सी थियो । शनिबार सिंगल स्क्रिनमा ८० प्रतिशत अकुपेन्सीका साथ सुरु भएको व्यापार दिउँसोबाट हाउसफुल रह्यो । मल्टीप्लेक्समा कम शोज पाएपनि चलचित्रले शनिबार दिनभरि मल्टिप्लेक्समा ५० प्रतिशत अकुपेन्सी कायम गर्यो ।

विशेष गरि राजधानीका गोपीकृष्ण, गुण सिनेमाज, अष्टनारायण हाउसफुल भए । भने, मोफसलका धनगढी, पोखरा, नारायणगढ, इटहरी, बुटवल लगायतका ठुला स्टेशनमा दर्शकको अत्याधिक चाप रहेको उपत्यका बाहिर सिनेमा वितरण गरेको कम्पनि एफडीले जानकारी दियो ।

शनिबार हल रिपोर्ट बुझ्न राजधानीका हल धाएका कलाकार विराज भट्टले दर्शकको मायामा आभार प्रकट गरे । ‘मलाई यस स्थानसम्म दर्शकले ल्याउनु भएको हो । र, लामो समयपछि दर्शक माँझ आउँदा यतिको स्वागत होला भन्ने सोचेको थिएन । मायाको लागि धन्यवाद ।’ विराजले भने ।

सिंगल स्क्रिनमा देखिएको दर्शकको भिडले विराजको स्टारडम पावर देखाएको छ । विराज हल पुग्दा दर्शकले ठुलो हुटिङ गरेका थिए । उनिसँग सेल्फी खिच्न दर्शकको भिड थामिनसक्नु थियो । दर्शकसँग साक्षात्कार गर्ने क्रममा उनले चलचित्रको डाइलग र गीत सुनाए ।

विराज आफैले निर्माण, निर्देशन र अभिनय गरेको चलचित्रको द्वन्द दृश्य सर्वाधिक रुचाइएको छ । चलचित्रमा विराजसँगै निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारले अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी,राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको द्वन्द, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।