अर्पण सुरक्षा र बेनिशाको ‘घर’मा कति दर्शक बस्लान ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घर’को अहिले राम्रै चर्चा परिचर्चा भैरहेको छ । हरर जनरामा निर्माण भएको चलचित्रले बक्सअफिसमा कस्तो व्यापार गर्ला भन्ने चर्चा अहिले चलचित्र बजारमा निकै चलिरहेको छ । निर्देशक अर्पण भन्छन्,- ‘सुनकेशरी हेरर हाँसेका दर्शक ‘घर’ हेरेर तर्सिने छन् । हामी र हाम्रो टिमले छायाँकन देखि पोष्ट प्रोडक्सन सम्म निकै मेहनत गरेर उत्कृष्ट चलचित्र निर्माण गर्ने प्रयास गरेका छौं ।’ यसैले पनि ‘घर’ हेर्न हलसम्म दर्शक पुग्ने विश्वास निर्देशक तथा अभिनेता थापालाई छ । मैले निर्माण तथा निर्देशन गरेको पहिलो हरर सिनेमा ‘सुनकेशरी’ व्यापारिक रुपमा असफल भएता पनि राम्रो व्यापार गरेको थियो । हामीले ‘घर’लाई सुनकेशरी भन्दा निकै माथिल्लो स्तरमा निर्माण गरेका छौं । यसैले पनि चलचित्रले राम्रो बिजनेस गर्नेमा विश्वस्त छु ।

चलचित्र साउन ३ गते अर्थात आगामी शुक्रबारबाट प्रदर्शन हुँदैछ । चलचित्रमा उनी निर्देशकमात्र नभई मुख्य अभिनेता समेत हुन् । अर्पणले ‘घर’मा अभिनेत्री सुरक्षा पन्त र बेनिशा हमालसँग स्क्रिन सेयर गरेका छन् । चलचित्र रिलिजका लागि केहि दिन मात्र बाँकी रहँदा निर्माता, निर्देशक तथा कलाकार चलचित्रको ‘प्रचारमा खासै देखिएका छैनन् । चलचित्रका निर्माता शर्मिला पाण्डे र दिपेन्द्र के खनाल ‘घर’ को प्रचार प्रसार भन्दा पनि छायाँकनरत चलचित्र ‘आमा’ मा बढि व्यस्त छन् । डिएस डिजिटल प्रालीको व्यानरमा निर्माण गरिएको चलचित्रकी प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन् । चलचित्रलाई निर्देशक दिपेन्द्र के खनाल र अभिनेता सुरज पाण्डेले मिलेर निर्माण गरेका हुन् । भने, घरको सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् । निरज कँडेलले छायाँकन गरेको चचलचित्रमा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन, बिकास खनाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । श्रीकृष्ण श्रेष्ठ र मनोज श्रेष्ठले भिएफएक्स गरेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।