नेपालकी ट्रान्सजेन्डर​​ मोडल अञ्जली अब हलिउडमा



एजेन्सी। मोडलिङको दुनियाँमा फरक पहिचान बनाइसकेकी नेपालकी ट्रान्सजेन्डर​​ मोडल अञ्जली लामाले अब हलिउड चलचित्रमा काम गर्ने भएकी छन् । नुवाकोटमा जन्मिएकी अञ्जली अन्तराष्ट्रिय विभिन्न फेसन शोमा आफ्नो उपस्थित जनाइसकेकी छन् ।

अञ्जलीले अहिले डेब्यु गर्न लागेको हलिउड चलचित्र ६ भागमा निर्माण हुनेछ । चलचित्रलाई लीना यादवले निर्देशन गर्दैछन । उनीसँगै यो चलचित्रमा बलिउडकी चर्चित अभिनेत्री ज्याकलीन फर्नान्डिसको समेत अभिनय देख्न सकिनेछ ।

डेडलाइनमा उल्लेख गरिएको रिपोर्ट अनुसार, यो एक एन्थोलजी चलचित्र हुनेछ । लर्वोलिनो इन्टरटेन्मेन्ट को–प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने चलचित्रको नाम ‘वुमेन्स स्टोरीज’ राखिएको छ । यो चलचित्रमा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेला लगायतका कलाकारको समेत अभिनय देख्न सकिने जनाइएको छ ।

तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने अञ्जलीले २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा आफुलाई उत्कृष्ट २० पुराएपछि अन्तराष्ट्रिय रुपमा चर्चामा आएकी थिइन् ।