बलात्कारको घटनाका बिषयमा बोले अभिनेता हसन



काठमाडौँ। नेपालमा पछिल्लो समय बढेको बलात्कारको घटनाका बिषयमा विभिन्न कलाकारहरुले आवाज उठाइरहेका छन् । कसैले सामाजिक संजालबाट त कसैले भिडियोबाट आवाज उठाइरहेका छन् । निर्माता तथा कलाकार हसनराजा खानले पनि यो बिषयमा भिडियो नै तयार गरेर आफ्नो भनाई राखेका छन् । दुबइमा रहेका हसनले ‘साहस नेपालीको’ नामक युटुब च्यानल संचालन गरिरहेका छन् । सो च्यानलमा उनले नेपाल र नेपालीको समस्याको बिषयमा आवाज उठाउने बताए ।

हसनले नेपालमा बढ्दै गएको बलात्कारको बिषयमा आफ्नो भनाई राख्दै समस्या परेपछि त्यसलाई व्यक्त गर्न डराउन नहुने बताए । उनले भने–‘२ महिना, ६ महिना, २ बर्षको बालिका बलात्कार भएको घटना सार्वजनिक भैरहेका छन् । हामी कस्तो समाजको निर्माण गर्दैछौ । आज मलाई यी घटनाले पुरुष भएकोमा लाज लागेको छ ।’

हसनले आफूमाथि हुने शोषणको बिषयमा बोल्न आग्रह गरेका छन् । बलात्कारको घटनाको बिषयमा आफूले अहिलेसम्म कुनै समाधान नदेखेको भन्दै उनले बलियो कानुनको आवश्यकता रहेको बताए । उनले, बलात्कारको घटनाका दोषीलाई ७ दिन भित्रमा दण्डित गर्नुपर्ने तर्क राखेका छन् । चलचित्र ‘अलबिदा’, ‘रोमियो’ लगायतका चलचित्रको निर्माण गरेका हसनले चाडै नै नयाँ चलचित्रमार्फत दर्शकमाझ आउने बताए ।