‘आप्पा स्टोरी च्यालेन्ज’, विजेतालाई नगद ५० हजार


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र प्रदर्शनताका मेकरहरु प्रचारको निमित्त अनेकौँ तरिका अपनाउने गर्छन । वर्षेनी सयको हारहारीमा चलचित्र रिलिज हुँदा बक्सअफिसमा ठुलो प्रतिस्पर्धा छ । त्यसैले सबै दर्शक प्रभावित बनाउन सक्ने खालका प्रचार सामाग्री ल्याउन आवश्यक छ । असार १३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आप्पा’ले प्रचारको नयाँ योजना तयार गरेको छ । भिडियो मार्फत सार्वजनिक गरिएको ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा अभिनेता दयाहाङ राईले जानकारी दिएका छन् । चलचित्रमा दयाहाङले आप्पा (बुवा) को भूमिका निर्वाह गरेका छन् । चलचित्रले बाबु-छोराको सम्बन्धको कथा भन्छ ।

‘आप्पा स्टोरी च्यालेन्ज’मा दुई माध्यमबाट सहभागिता जनाउन सकिनेछ । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै ‘आप्पा’लाई भन्न मन लागेको कुरा लेख्नु पर्नेछ । र, त्यस पोस्टलाई ‘आप्पा नेपाली मुभी’को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ ।

त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवा (आप्पा)सँगको भिडियो अपलोड गरेर ‘आप्पा’लाई भन्न मन लागेको कुरा प्रष्फुटन गर्नुपर्नेछ । फोटोमा जस्तै ३ जना साथि र ‘आप्पा’ सिनेमाको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा बताउनु पर्नेछ ।

च्यालेन्जमा सहभागी मध्ये जसको स्टोरी प्रेरणादायिक हुन्छ, त्यसलाई विजेता घोषित गरिनेछ । फोटोस्टोरीको विजेताले २५ हजार नगद र ‘आप्पा’ सिनेमा प्रिमियरको २ ओटा टिकट प्राप्त गर्नेछन् । भने, भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुई ओटा टिकट जित्नेछन् । इच्छुकले असार ६ गते भित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ ।

अनमोल गुरुङ निर्देशित चलचित्रमा सिद्दार्थराज तामाङले दयाहाङको छोराको भूमिका निर्वाह गरेका छन् । माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित सिनेमामा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ ।

रुदेन सदा लेप्चाले निर्माण गरेको चलचित्रमा अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायाँकन र योजना प्रधानको कोरियोग्राफी छ । चलचित्रको कार्यकारी निर्माता मबो चेम्जोङ हुन् ।