केशव भट्टराईको परिवारलाई ‘आमा’ निर्माताले गरिन् नगद १ लाख १ हजार सहयोग


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई चलचित्र ‘आमा’ को तर्फबाट निर्माता शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छिन् । आइतबार चलचित्रका निर्देशक दीपेन्द्र के खनाल, कलाकार सुरक्षा पन्त,मिथिला शर्मा सहित केशवकी पत्नी नीता भट्टराईलाई भेटेर पाण्डेले नगद १ लाख १ हजार सहयोग गरेकी हुन् । भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको समाचार मिडियाबाट थाहा पाएर आफु सहयोग गर्न आएको पाण्डेले बताइन् । ‘म पनि एउटी आमा भएकाले आमाको मर्म वुझेकी छु,’ पाण्डेले थपिन् ।

आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको हो चलचित्र ‘आमा’ । सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका रहेको चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारी लगायतका कलाकारहरुको पनि अभिनय छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्र फागुन ९ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ । कोठा भाडामा लिएर बस्ने मध्यम वर्गीय परिवारको कथामा चलचित्र निर्माण गरिएको हो। आमा र छोरीबिचको सम्बन्धलाई देखाउने चलचित्रको सार्बजनिक ट्रेलरले दर्शकमा कौतुहलता जागेको छ ।