कार्तिक ९ गते बाट प्रदर्शनमा आउने ऐश्वर्यले थाल्यो मोफसल टुर


सेलिब्रेटी नेपाल काठमाडौँ

आउदो कार्तिक ९ मा रिलिज हुने चलचित्र ’ऐश्वर्य’ ले मोफसल टुरको सुरुवात पोखराबाट गरेको छ । गीत र ट्रेलरले दिएको हाईपलाई बढाउनुका साथै मोफसलका सञ्चारकर्मीसंग प्रत्यक्ष साक्षात्कार गर्ने उदेश्यका साथ टुरमा आएको निर्माण पक्षको भनाइ रहेको छ । आइतबार बिहान पोखरामा कास्की चलचित्र पत्रकार संघको आयोजानमा सम्पन्न प्रेस मीटमा चलचित्रका अभिनेता रमेश उप्रेती , प्रशान्त ताम्राकार , निर्मल शर्मासंगै अभिनेत्री दीपिका प्रसाईंको उपस्थिति रहेको थियो । पोखराबाट सुरु भएको टुर चितवन हुदै हेटौडा पुगेर सकिने निर्माण पक्षको भनाइ छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी , अर्जुन श्रेष्ठ , केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको तिमि रोएको पल गीतले पछिल्लो समय चलचित्रलाई चर्चामा ल्याएको छ ।

रमेश उप्रेतीले कार्यक्रममा बोल्दै आफ्नो डेब्यु चलचित्रको शुटिङमै पोखरा पहिलो पटक आएको कुरा बताए उनि भन्छन “यतिबेला डेब्यु निर्माता बन्दा आउने अवसर पाएको छु । नेपाली चलचित्रको रोजाईको सिटी पनि हो पोखरा , यहाँको कलेक्सनको चासो हामीलाई पनि हुने गर्छ । त्यसैले गर्दा पनि हामी चलचित्रकर्मीको मनमा पोखरा छ । मैले नेपाली चलचित्रमा एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको छु , मलाइ आश छ कलाकारिताबाट संगालेको अनुभवलाई यसमा प्रयोग गरेको छ । मलाइ कलाकार भएकोले नै दर्शकको तालि र गालि थाह छ , त्यसैले गर्दा पनि म ढुक्क छु दर्शकलाई मा पर्ने चलचित्र बनाएको छु ।”