आजदेखि हलमा फेरि हिन्दी तथा अंग्रेजी फिल्म चल्न थाले


असोज २५ बिहिबार सेलेब्रिटी नेपाल – मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले नेपाल भरका हलहरुमा लगाएको हिन्दी फिल्ममाथिको प्रतिबन्ध आजदेखि हटेको छ। आजदेखि काठमाडौँका हलहरुले फेरि हिन्दी फिल्म लगाउन थालेका छन्। हिन्दी तथा अंग्रेजी फिल्म फेरि चल्न थाले पनि हलहरुले नयाँ फिल्म भने ल्याएका छैनन्।.

काठमाडौँका मल्टिप्लेक्स हलहरुमा पुरानै हिन्दी फिल्म बर्फी, ओह माइ गडलगाइएका छन्। विदेशी फिल्ममाथि प्रतिबन्ध लगाइएका कारण हलहरुमा अंग्रेजी फिल्म पनि चलेका थिएनन्। आजदेखि मल्टिप्लेक्स हलहरुमा रेजिडेन्ट एभिल पनि चल्न थालेको छ।
१० दिन हिन्दी फिल्म बन्द हुँदा भिसा गर्ल, लेटर जस्ता नेपाली फिल्म रिलिज भए पनि ती फिल्मले अपेक्षा अनुरुप व्यापार गर्न सकेनन्। हिन्दी र अंग्रेजी फिल्म चल्न थालेपछि रिलिज भएको एक साता नहुँदै भिसा गर्लका शो क्युएफएक्समा चार शोमा र बिग सिनेमामा तीन शोमा झर्न पुगेको छ।
फिल्म वितरण र प्रदर्शन गर्ने संस्था डिजिटल सिनेमा नेपालका प्रबन्ध निर्देशक अशोक शर्माले १० दिनको बन्दमा औसत दुईदेखि साढे दुई करोड रुपियाँ घाटा भएको बताए।

उनका अनुसार यो अवधिमा हिन्दी फिल्म उद्योगमा कुनै पनि ब्लकबस्टर्स मूभी रिलिज नभएकोले घाटा कम देखिएको हो। ‘धेरै वटा राम्रा फिल्म रिलिज भएको भए घाटा अझ बढी हुन्थ्यो’, उनले भने।
त्यसैगरी भारतीय लगानीसमेत रहेको काठमाडौँको बिग सिनेमाका कन्ट्री मेनेजर भरत सिंह भन्छन्, ‘हिन्दी फिल्मको अभावमा हाम्रा हलहरुमा निकै कम दर्शकको उपस्थिति रह्यो।