फिल्म अवार्डको नाममा किर्ते काम



सेलेब्रिटी नेपाल असोज २४ – जे खुरापाती पनि नेपाली चलचित्र उद्योग मै हुदो रहे छ
यतिबेला चलचित्रहरू राम्रोसँग चलिरहेका छैनन् । एकातिर निर्माताहरू आर्थिक मारमा परिरहेका छन् भने सिनेमाहरू नचलिरहेको अवस्थामा यही कारणले गर्दा कलाकारहरूले पाउने पारिश्रमिकमा पनि कमी भइरहेको छ । अर्थात् उनीहरूले श्रमअनुसारको मूल्य पनि पाइरहेका छैनन् । अवस्था यस्तो छ तर एउटा समूह भने कलाकारहरूको नाम, उचाइ, मान र सम्मानलाई नै तिलाञ्जली दिने खालको काम गर्दै हिँड्न थालेको छ । फिल्म अवार्डको नाममा कलाकारहरूको अनुमति र स्वीकृतिबिना उनीहरूको तस्बिर प्रचार सामग्रीहरूमा राखेर किर्ते काम गर्दै हिँड्न थालेको यस्तो समूहबाट सबै सचेत रहनुपर्ने अवस्था छ अहिले । युएईमा आगामी साता भव्य रूपमा आयोजना हुने भनेर स्वघोषित ‘भव्य’को चर्चा गर्दै हिँड्ने बक्स अफिस फिल्म अवार्डले केही कलाकारको नाममा किर्ते काम गरेको रहस्योद्घाटन भएको छ । यो मारमा परेका छन् महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर र हास्यकलारद्वय दीपकराज गिरी र दीपाश्री निरौला ।

आफू दुबई जाने कुरा यीलगायत अन्य केही कलाकारहरूलाई थाहा छैन, तर पोष्टरहरूमा यिनीहरूको तस्बिर ठूलो पारेर राखिएको छ । एक त यो कार्यक्रममा यी कलाकारहरू जानै सक्दैनन् भने अर्कोतर्फ यिनीहरूको स्वीकृति नै लिइएको छैन । जुन समयमा दुबईमा कार्यक्रम हुँदै छ त्यही समयमा राजेश हमाल र करिश्माको अमेरिकामा कार्यक्रम छ भने दीपकराज र दीपा हास्य कार्यक्रममा देशदौहाडामा छन् । आफ्नो तस्बिरको दुरुपयोग गरेकोमा नायक राजेश हमाल पनि रिसाएका छन् यसपटक । ‘मलाई थाहा पनि छैन र कुरा पनि गरिएको छैन । यसरी गलत काम गर्नु राम्रो होइन,’ हमाल भन्छन् । उता करिश्मा अमेरिकामा छिन् तर यता पोष्टरमा उनको तस्बिर छ ।