एकनारायणलाई करिअरकै प्रिय र उत्कृष्ट लाग्ने त्यो गीत


तस्वीर : एकनारायणको फेसबुकबाट

काठमाडौं। गीतकारको सम्पत्ति भनेकै गीत हो । गीत जन्माउन गीतकारको भूमिका महत्वपूर्ण हुने गर्छ । त्यसो त गीतकारलाई आफूले सिर्जना गरेका सबै गीत मन पर्छन्। राम्रा लाग्छन् । त्यो स्वभाविकै हो ।

लोक तथा आधुनिक गीतका क्षेत्रमा एकनारायण भण्डारी नौलो नाम होइन । उनले लेखेका चलचित्रका गीत पनि उत्तिकै लोकप्रिय छन् । गीतकार तथा संगीतकार भण्डारीको रचना तथा संगीतमा ५ सयभन्दा बढी गीत बजारमा आइसकेका छन् । नेपाली संगीतमा लगातार हिट गीत दिइरहेका भण्डारीलाई जीवनकै सबैभन्दा प्रिय लाग्ने गीत हो, सुपारी चाम्रो । उनी भन्छन्, –‘सुपारी चाम्रो’ मलाई सांगीतिक क्षेत्रबाट पलायन हुन नदिने गीत हो ।’ बाँकी उनकै शब्दमा :

यस गीतमा मेरो शब्द/संगीतमा बिमलराज क्षेत्री र विष्णु माझीले स्वर दिनुभएको छ । भिडियोमा शंकर बिसी र सम्झना बुढाथोकीले अभिनय गर्नुभएको छ । २०६४ साततिर बजारमा आएको यो गीतले मलाई विदेशिन नदिई नेपालमै बस्ने वातावरण मिलाइदिएर आर्थिक रुपले पनि अलिकति सक्षम बनाइदियो । यो गीत आउनुभन्दा अगाडि पनि मेरो थुप्रै गीत हिट भएका थिए । तर कमाईको हिसाबले मलाई निकै गाह्रो थियो । म त नयाँ भएर पनि पैसा पाउन गाह्रो थियो ।

त्यसताका म निकै चिन्तित भएर विदेश जाने सोँचसम्म बनेको थियो । अनि दुईवटा विकल्प देखेँ, कि आफ्नै कम्पनीबाट गीत ल्याउने कि विदेश जाने । म जिल्ला गएर विदेश जाने मनसायका साथ पासपोर्स बनाएर काठमाडौं आएँ । तर त्यसभन्दा अगाडि आफ्नै कम्पनीबाट एउटा गीत ल्याउने निधो गरेँ । गीत चले संगीतमै लाग्ने नत्र विदेशिने सोच बनाएँ । मेरो कम्पनी सितारा म्यूजिकबाट ‘सुपारी चाम्रो’ गीत सार्वजनिक भयो । गीतको चर्चा यति भयो कि एकदिन बिराएर एक हजारका दरले क्यासेट बिक्री भयो । मैले एक वर्षमा १ लाख बढी क्यासेट बिक्री गरेँ ।

आज म जहाँ छु यही गीतकै कारण छु । त्यसयता मलाई आर्थिक हिसाबले पनि कहिल्यै समस्या भएन । त्यसैले पनि मलाई यो संगीत करिअरकै सबैभन्दा बढी प्रिय र उत्कृष्ट लाग्छ ।