लघु चलचित्रको धरानमा मुहर्त संगै छायाँकन सुरु



धरान। थिएटर सहाराको प्रस्तुती रहेको द रेड मुन नामक लघु चलचित्रको आज शनिबार शुभमुर्हत गरिएको छ । धरान १४ स्थित पञ्चकन्या मन्दिर परिसरमा लघु चलचित्रको शुभमुर्हत गरिएको हो ।

संघीय सांसद जयकुमार राई र नेपाल चलचित्रकर्मी महासंघका १ नम्बर प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन र क्ल्याप गर्दै चलचित्रको शुभमुर्हत गरेका थिए । प्रधानले नरिवल फोड्नुका साथै मुर्हत निर्देशन गरे भने सांसद राईले क्ल्याप गरेका थिए । मुर्हत सिनमा कलाकार आरोही श्रेष्ठले अभिनय गरेकी छिन ।

लघु चलचित्रको निर्देशक रविन श्रेष्ठ रहेका छन् भने निर्माता नविन मेन्याङवो रहेका छन् । क्यामेरामेन लुज सिंह छन् । लघु चलचित्रमा प्रेम सुब्बा, तुलसा थापा, आरोही श्रेष्ठ (बाल कलाकार), विजय सुब्बा, हिमाल दाहाल, तिर्थराज राई लगायत कलाकारहरु छन् । आजदेखि नै चलचित्रको छायाँकन शुरु भइसकेको निर्देशक श्रेष्ठले बताए ।

निर्देशक श्रेष्ठका अनुसार उनले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरेर यो लघु चलचित्र निर्माण थालिएको जानकारी गराए । फिल्मले द्धन्दको बेला गाउँका मानिसहरुले भोगेको पीडालाई प्रस्तुत गर्ने उनले बताए । १५ देखि २० मिनेटको हुने यस चलचित्रको सुटिङ सोमबारसम्म सकिने निर्देशक श्रेष्ठको भनाई छ । सम्पूर्ण छाँयाकन धरानको ग्रामिण भेगमा हुने उनले बताए ।