‘सुपर डान्सर’ बाट बाहिरीइन् शिल्पा



एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको मामलामा सोमबार राती पक्राउ गरेपछि यसको असर अभिनेत्री शिल्पाले भोगिरहनु परेको छ । शिल्पा हालका दिनमा डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ मा निर्णायक थिइन् । तर अब यो पति पक्राउ परेपछिको मामलाले शिल्पाले यो स्थान जोगाउन सकिनन् ।

शिल्पा यो शोको आगामी भागमा देखिने छैनन् । यसको कारण उनको पति राजको पक्राउलाई प्रमुख मानिएको छ । ‘सुपर डान्सर च्याप्टर ४’को आगामी भागको सुटिङ मंगलबार हुनुपर्ने थियो । तर अन्तिम क्षणमा शिल्पाले सुटिङ सेटमा आउन अस्वीकार गरिन् । यो घटनालाई निर्माताले शिल्पा आफैं शोबाट बिदा लिएको रुपमा बुझेका छन् ।

शोको आगामी भागमा शिल्पाको स्थानमा अभिनेत्री करिश्मा कपूरले विशेष निर्णायकको रुपमा आफ्नो उपस्थिति जनाउदैछिन् । निर्माताले करिश्मा कपूर, गीता कपूर र अनुराग बसुका साथ शोको सुटिङ पुरा गरिसकेका छन् । यसअघि शिल्पाले मे महिनामा शोबाट केही दिनका लागि ब्रेक लिएकी थिइन् । यो बेला उनको स्थानमा मलाइका अरोडा आएकी थिइन् ।