सलमान र कटरिनाको ‘भारत’ बुधबार बाट नै प्रदर्शनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपालमा अब फेरि हिन्दी फिल्म बुधबार रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी चलचित्र बुधबार रिलिज गर्न नपाउने केही समय अगाडि गरेको निर्णय काठमाडौँ जिल्ला अदालतले अन्तरिम आदेश मार्फत उल्टाएको हो । बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कटरीना कैफको प्रमुख भूमिका रहेको फिल्म ‘भारत’ बुधबार बाट नै प्रदर्शनमा आएको छ ।

चलचित्र विकास बोर्ड अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएपछि गरिएको यो पहिलो निर्णय थियो । जसको स्वागत सम्पुर्ण नेपाली चलचित्रकर्मीले गरेका थिए । फिल्म ‘भारत’ इद उल फितरको अवसर पारेर बुधबार रिलिज हुन लागेको हो ।

बोर्ड बलिउड फिल्म पनि नेपाली फिल्म जस्तै शुक्रबार मात्र रिलिज गर्न पाइने गरेको थियो । तर नेपाल वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार नै ‘भारत’ नेपाल रिलिज गर्न पाउनु पर्ने भन्दै बोर्डको निर्णय विरुद्ध दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै फुकुवा गरेको हो ।

अदालतले आन्तरिम आदेशमा स्वतन्त्र व्यवसाय माथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । बोर्डको निर्णयका कारण फिल्म ‘कलंक’को बुधबार नेपालमा रिलिज रोकिएको थियो ।