रानु मण्डलले घर पाइन् तर सलमान खानले दिएका भने होइनन्


सेलिब्रेटी नेपाल

एजेन्सी: कुनै बेला रेलवे स्टेशनमा गीत गाउने ५९ वर्षकी रानु मण्डलको जिन्दगी रातारात बदलिएको छ । पश्चिम बंगालको राणाघाट रेलवे स्टेशनमा रानु मण्डल लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ गाइरहेकी थिइन्, जसलाई त्यहीँ रहेका अतिन्द्र चक्रवर्ती नामका युवाले भिडियो रेकर्ड गरेर फेसबुकमा शेयर गरे । यो भिडियो यति चर्चित भयो कि रानुको जिन्दगी नै बदलियो ।

रानु मण्डल चर्चित भएपछि धेरै खबर आए, तीमध्ये केही सही थिए भने केही हल्ला मात्र थिए । सामाजिक संजालमा रानुलाई सलमान खानले ५५ लाखको घर दिएको हल्ला फैलियो । यतिमात्र होइन सलमानले रानुलाई फिल्म ‘दबंग ३’मा गाउने अफर दिएको समेत खबर भाइरल भयो । अब यसबारे अतिन्द्र चक्रवर्तीले नै वास्तविकता खोलेका छन् । रानु चर्चित भएपछि अतिन्द्रले नै रानुको म्यानेजरको रुपमा समेत काम गरिरहेका छन् ।

हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अतिन्द्रले सलमानले घर र अफर दिएको खबर असत्य भएको बताए । अतिन्द्रका अनुसार सलमानले दिएको खबर असत्य भए पनि रानुले घर भने पाएकी छिन् । रानुलाई राणाघाट स्थानीय प्रशासनले घर दिएको अतिन्द्रले बताए । जुन च्यानलले उनलाई लाइभ प्रस्तुतीको अफर दिएको थियो त्यही च्यानलले नै उनलाई आधार कार्ड बनाउन पनि सहयोग गरेको थियो ।

अतिन्द्रका अनुसार रानुलाई अवसरका ढोका भने धेरै खुलेका छन् । रानुले यसअघि नै चर्चित संगीतकार तथा गायत हिमेश रेशमियाँसँग २ गीत रेकर्ड गराइसकेकी छिन् । रानुलाई ओस्कार विजेता संगीतकार एआर रहमानको तर्फबाट समेत फोन आएको छ । चर्चित गायक सोनु निगम पनि रानुसँग गाउन चाहन्छन् । यसका लागि व्यवस्थापनको काम अतिन्द्रले नै हेरिरहेका छन् ।