पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध



एजेन्सी: पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लागेको छ । भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि रुष्ट बनेको पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएको हो ।

भारत सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्दै लद्दाखलाई पनि केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि पाकिस्तानले व्यापारिक र राजनीतिक सम्बन्ध सीमित गरेको छ ।

भारतीय सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खोसिएपछि दुबै देशबीच तनाव चर्किएको छ । भारतले चालेको कदमको विरोध स्वरुप पाकिस्तानले विभिन्न कदम चाल्दै आएको छ । गएको बिहीबार मात्रै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल ‘सम्झौता एक्सप्रेस’ सधैँका लागि बन्द गर्ने घोषणा गरेको थियो । यसै क्रममा पाकिस्तानले आफ्नो चलचित्र घरहरुमा बलिउड चलचित्र नचलाउने घोषणा गरेको छ ।

‘पाकिस्तानको सिनेमा घरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गरिने छैन । नाटक, चलचित्रलगायत भारतीय सामग्री पाकिस्तानमा पूर्णरुपमा प्रतिबन्ध हुनेछ’, पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण मामलाका विशेष सल्लाहकार फिरदौस आशिक अवाजले भने ।