अनुष्का शर्माविरुद्ध फेरि अर्को मुद्दा


सेलिब्रेटी नेपाल

एजेन्सी :नेपालीलाई अपशब्द प्रयोग गरिएको विषयमा बलिउड अभिनेत्री अनुष्का शर्माको वेब सिरिज पाताल लोक यसअघि नै विवादमा छ । जातिवादी गाली गरेको भन्दै वेब सिरिजकी निर्माता अनुष्का शर्माविरुद्ध वीरेन सिंह गुरुङले कानुनी नोट पठाइसकेका छन् । उनले यस सिरिजबाट जातीय गालीको अंश हटाउनुपर्ने माग गरेका छन् । यही बीचमा यो वेबसिरिजकै कारण अनुष्का शर्माविरुद्ध अर्को उजुरी परेको छ ।

गाजियाबादको लोनीका भाजपा विधायक नन्दकिशोर गुर्जरले पाताल लोकमाथि आपत्ति जनाएका छन् । नन्दकिशोर गुर्जरले लोनी थानामा अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता गर्नको लागि उजुरी दिएका छन् । उनले यो वेब सिरिजमा एक वान्टेड अपराधीको साथमा आफ्नो फोटो लगाएको आरोप लगाएका छन् । साथमा वेब सिरिजमा गुर्जर समाजलाई पनि आपत्तिजनक भाषा बोलिएको उनको आरोप छ ।

गुर्जरले अनुष्का शर्मालाई राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत कारवाहीको माग गरेका छन् । उनले दिएको उजुरी अनुसार वेब सिरिजमा बालकृष्ण बाजपेयी नामका अपराधिक पृष्ठभूमि भएका नेतासँग आफ्नो र अन्य भाजपा नेताहरुलाई एक बाटो उद्घाटन गर्दै गरेको देखाइएको बताएका छन् ।