अमिताभपछि अनुपमको परिवारलाई कोरोना संक्रमण



मुम्बई (एजेन्सी) । अभिनेता अनुपम खेरको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । अनुपमले आइतबार आमा दुलारी, भाइ अभिनेता राजु खेर र उनको परिवारलाई कोरोना भाइरसको संक्रमण भएको खुलासा गरेका हुन् ।

खेरले ट्विटरमा एक भिडियो साझा गर्दै आफ्नो आमाले विगत केही दिनदेखि खाना नखाएको र रगत जाँच्दा चिन्ता लिनुपर्ने कारण केही नभएको रिपोर्ट आएको बताएका छन् । ‘यसपछि हाम्रा चिकित्सकले हामीलाई आमालाई एक सिटी स्क्यान केन्द्र लैजान र आमाको जाँच गराउन सल्लाह दिए । त्यही बेला आमालाई कोरोना संक्रमण भएको र लक्षण सामान्य रहेको चिकित्सकले जानकारी दिए’, अनुपमले भनेका छन् ।

उनले आफू र भाईले पनि कोरोनाको जाँच गराउदा भाइलाई सामान्य लक्षणका साथ कोरोनाको संक्रमण देखिएको बताए । आफ्नो रिपोर्ट नेगेटिभ भए पनि भाउजु र उनकी छोरीको रिपोर्ट पोजेटिभ आएको उनले खुलाए ।

६५ वर्षे अभिनेताले उनकी आमा कोकिलाबेन अस्पतालमा भर्ना भएको र उनको भाइको परिवार होम क्वारेन्टाइनमा रहेको जनाए । ‘मैले बीएमसीलाई सूचना दिइसकेको छु । उनीहरु राम्रो काम गरिरहेका छन् । उनीहरुले मेरो भाईको घरलाई संक्रमण मुक्त गर्नेछन्’, उनले भनेका छन् ।

अनुपमको परिवारलाई कोरोना संक्रमण देखिनु एकदिन अघि बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई नानावटी अस्पतालमा भर्ना गरिएको छ । आइतबार ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।