अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली आवाज


सेलिब्रेटी नेपाल

एजेन्सी: विश्वकै सबैभन्दा ठूला मध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् ।

हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् ।

दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए । प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए । उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए र पटक पटक नमस्ने गरिरहेका देखिन्थे । उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका थिए ।