अब साहित्य को बिक्रि रामो हुन थाल्यो


सेलेब्रिटी नेपाल असोज २८ आइतबार दुई सातादेखि जारी साझा पुस्तक प्रदर्शनीमा साहित्यिक कृतिहरूले बिक्रीमा बाजी मारेका छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भइरहेको प्रदर्शनीको आइतबार सकिँदै छ । पछिल्लो दिन शनिबार १० लाख ४५ हजार रुपैयाँ बराबरका पुस्तक बिक्री भएका थिए, अहिलेसम्म ९० लाख रुपैयाँ पुगेको प्रदर्शनी संयोजक अनिल पौडेलले बताए । प्रदर्शनीमा अमर न्यौपानेको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ बढी बिकेको छ । साझाका कर्मचारी होम भट्टराईका अनुसार प्रदर्शनीमा अमरको कृति २ हजार प्रति राखिएको थियो, केही प्रति मात्रै बाँकी छन् । झमक घिमिरेको आत्मवृत्तान्त ‘जीवन काँडा कि फूल’, गौरा प्रसाइर्ंको आत्मकथा ‘मेरा जीवनका पानाहरू’, जगदीश घिमिरेको ‘सकस’ लाई पनि पुस्तकप्रेमीले उत्तिकै मन पराए । इतिहास र संस्कृतिसम्बन्धी पुस्तकप्रति पनि पाठक चासो बढी देखिएको छ । बाबुराम आचार्यको ‘पृथ्वीनारायण शाहको जीवनी’ र स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ ?’ धेरैले मन पराएका छन् । बीपी कोइराला र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू पनि अधिक बिक्रीको सूचीमा छन् । केही दिनअघि मात्रै सार्वजनिक दिलीप शाहको कथा संग्रह ‘मुर्दार काठमाडौं’, शारदा शर्माको उपन्यास ‘ताप’, रवीन्द्र समीरको लघुकथा संग्रह ‘अणु र पहाड’, मोहनविक्रम सिंहको समालोचना ‘साहित्य, जीवन र सौन्दर्य’ लाई पनि दर्शकले मन पराएका छन् ।