आकाश र आँचल स्टारर ‘ब्ल्याक’ मोफसल टुरमा


सेलिब्रेटी नेपाल काठमाडौँ
आकाश श्रेष्ठ र आँचल शर्मा स्टारर चलचित्र ‘ब्ल्याक’ले यतिबेला प्रचारलाई तिब्रता दिइरहेको छ । मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर कलाकार सहितको निर्माण टिम यतिबेला पुर्बी नेपालमा छ ।

झापाको मुख्य सहर मानिने बिर्तामोडमा भेटिएका लिड कलाकार आकाश र आँचल चलचित्रलाई लिएर उत्साहित देखिए । चलचित्र टिमले बिर्तामोडमा पत्रकार भेटघाट गर्दै चलचित्रले उठाएको बिषयको बारेमा जानकारी गराएको छ । स्थानिय पत्रकारबाट अन्यचलचित्र भन्दा ‘ब्ल्याक’ के कारणले फरक छ भनि आएको प्रश्नमा निर्देशक प्रदिप श्रेष्ठले सबैजसोचलचित्रले उठाउने लभस्टोरी कहिँकतै ठोकिन जाने भएता पनि ‘ब्ल्याक’को प्रस्तुती केहि भिन्न भएको दाबी गरे । ‘चलचित्रले जिन्दगीका रङहरुको ब्याख्या गरेको छ, निर्देशक श्रेष्ठले भने ।

बिर्तामोड र दमक सकाएर इटहरी पुगेकी निर्मात्री आश्मा पाण्डेले आफु पुर्बकै चेली भन्दै चलचित्र निर्माणमा आफ्नो उपस्थितीलाई दरिलो बनाउन र आफुलाई सफल बनाउनको लागी सबै पुर्बेली दर्शकको साथ र सहयोगको अपेक्षा राखिन् । लगानीमा कुनै कन्जुस्याइँ नगरेको र प्रोडक्ट उत्कृष्ट बनेको भन्दै हल पुग्ने दर्शकलाई आफ्नो चलचित्रले निराश नबनाउने तर्क पाण्डेको छ ।

अभिनेत्री आँचलले ‘ब्ल्याक’ आफुले यसअघि गरेका चलचित्र भन्दा भिन्न रहेको भन्दै आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व चलचित्रले गरेको दाबी गरिन् । बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा चलचित्रले बोकेको भन्दै पछिल्लो पुस्ताका युवाहरुको जीवन कसरी अन्धकारमा पर्छ र त्यसलाई उज्यालोतर्फ डोर्याउँदा आइपर्ने अनेकन परिस्थितीको वरीपरी चलचित्र घुमेको उनको तर्क छ ।

उता केहि समयको अन्तरमा पर्दामा आउँदै गरेका अभिनेता आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश चलचित्रले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष ‘ब्ल्याक’ले दिलाउने बताए ।

रिलिज नजिकिँदै गर्दा दर्शकसँग नजिकबाट साक्षात गर्न मोफसल केन्द्रिय प्रचारलाई अघि बढाउने क्रममा ‘ब्ल्याक’ टिम यतिबेला मोफसल यात्रामा छ । सोमबार बिर्तामोड र दमक पुगेको टिमले मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवलहुँदै पोखरा पुगेर स्थानिय सञ्चारकर्मी तथा दर्शकसँगको साक्षात्कारपछि आफ्नो यात्रा टुङ्ग्याउने छ ।

मौनता श्रेष्ठको कथामा बनेको चलचित्रका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । चलचित्रमा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत मुख्य भूमिकामा रहेका छन् ।