‘पसिना’ को लागि खुलिन बोल्ड हिरोइन सुरजनी


सेलिब्रेटी नेपाल

काठमाडौँ: ‘हट एण्ड बोल्ड’ अभिनेत्रीको रुपमा चिनिएकी सुरजनी केसी केही दिनयता आफ्नो चौथो चलचित्र ‘पसिना’ को प्रचारमा व्यस्त छिन् । बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा उनको भूमिका सहायक अभिनेत्रीको छ । मुख्य हिरोइनमा अनु शाह छिन् । गौरव पहाडी मुख्य अभिनेताको रुपमा छन् । आर.बि. खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ को प्रचार-प्रसारमा मुख्य कलाकारले खासै साथ दिएका छैनन् । अनु भिडियोमा व्यस्त छिन् भने गौरव चलचित्र ‘साइँली’ प्रदर्शन पश्चात कहाँ छन् अत्तोपत्तो छैन । मुख्य कलाकारले नै प्रचारमा साथ नदिएपछि सहायक भूमिकामा रहेकी सुरजनी अगाडि सरेकी छन् ।

केही दिनदेखि निर्माण टिमले चलचित्रको प्रचारका लागि बोलाएको ठाउँमा उनी समय निकालेर पुग्ने गरेकी छन् । चलचित्रमा आफ्नो सहायक भूमिका भए पनि सम्झनलायक रहेको उनको भनाई छ । भूमिका र कथावस्तु मन परेपछि ‘पसिना’ गरेको बताउने उनी चलचित्रले दर्शकलाई निराश नबनाउने दाबी गर्छिन् ।

यसअघि ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता चलचित्रमा काम गरिसकेकी छन् । ‘पसिना’ बक्सअफिसमा सफल भए उनलाई पनि ठूलो राहत हुने देखिन्छ ।

यस चलचित्रमा उनले एक साधारण युवतीको भूमिका निभाएकी छन् । चलचित्रको सार्वजनिक ट्रेलरमा उनलाई कुर्था सुरवाल लगाएकी एक सिम्पल युवतीको रुपमा देख्न सकिन्छ । तर, हालै उनले स्टुडियो क्रेज नेपालमा पुगेर यस चलचित्रका लागि हट एण्ड बोल्ड फोटोसुट गराएकी छन् । ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।