समाजसेवी हेम प्रति समर्पित गीत ‘असल मन’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : एक युगमा एक दिन शुभ समय आउंछ भने जस्तै एक दुइ जना मात्रै त्यस्ता व्यक्तिको जन्म हुन्छ जसको नाम मात्र लिंदा मात्र पनि आत्म सन्तुस्टि अनि सुखानुभूतिको अनुभव हुन्छ । त्यस्तो एक सामाजिक अभियन्ताको नाम हो हेम बहादुर थापा (कुमार) । हेम बहादुर र उनकी जीवन संगिनी माया थापाको सेवा भावमा समर्पित गीत ‘असल मन’ सार्बजनिक गरिएको छ । डि. ए.आर. मुभिज एण्ड फिल्म्स इण्डस्ट्रिजको प्रस्तुतिमा असल कर्मले पहिचान बनाउन सफल दम्पतिको बारेमा प्रभावन जे को लय शब्द र सुमधुर स्वरकी धनि गायिका गिता देवी डि.एन.दाहाल (धनपति),प्रभावन जेको स्वर रहेको छ । डि. ए.आर. मुभिजका संरक्षक प्रभावन जे भविष्यमा सामाजिक कार्य गर्ने यस्ता व्यक्तिलाई समर्पित गरेर समर्पण भाकाका गीतहरुको सृजना गर्ने र धेरैलाइ प्रोत्साहन गर्ने बताउछन् । सार्बजनिक भिडियोलाइ रोशन झाले निर्देशन गरेका हुन् । जयन्द्र कुँवरले छायांकन गरेको भिडियोलाइ बिबेक सुनारले सम्पादन गरेका हुन् । भिडियोको परिकल्पना प्रभावन जेको रहेको छ ।

२०३१ सालमा तेह्रथुमको मोराहंगमा जन्मिएका हेम बहादुर थापा सानै देखि सामाजिक कार्यमा सक्रिय रहेका थिए । उनले गाउँमा मन्दिर बनाउने बिद्यालय बनाउने लगाएत बिपन्न बर्ग,असहायहरुको सेवा गरि नै रहे । हाल उनि अमेरिकामा रहेका छन् । उनले अमेरिकामा रहेर त्यहाँ पुगेर बिचल्ली परेका नेपालीलाइ सघाउने देखि नेपालमा रहेर समस्यामा पर्ने थुप्रै व्यक्तिको लागि आर्थिक सहयोग गरि सकेका छन् । उनि अमेरिकामा आफुले १८-२० घण्टा परिश्रम गर्ने र त्यो कमाइले नेपालमा रहेका अशक्तहरुका लागि सहयोग गर्ने व्यक्ति हुन् ।

उनले २०७२ सालको महाभूकम्पको बेलामा पनि ठुलै सहयोग गरेका थिए । उनले २०७४ सालको बाढी पिडितहरुको लागि पनि ठुलै रकम आर्थिक सहयोग गरेका थिए । तेर्हथुमका क्यान्सर पिडित मनराज लिम्बु,रौतहटका नन्द किशोर यादब,झापाका मृगौला पिडित बोधराज खनाल ,तारानाथ खनाल,शारीरिक रुपमा अशक्त नीलमणि अधिकारी,मृगौला पिडित सोफिया अधिकारी,साउदी जेलमा जेल जीवन बिताई रहेका कुमार राणालाइ नेपाल फर्काउन उनले आर्थिक सहयोग गरे । उनले ‘खड्ग जोशी बचाऊ’ अभियानको लागि पनि महत्वपूर्ण योगदान दिएका छन् । पर्साको मौवानधापमा रहेको दलित प्राथमिक विद्यालयको स्तर उन्नतिको लागि पनि उनले आर्थिक सहयोग गरे उनले यसरि गरेका सहयोगहरु सबैको लेखा जोखा नै छैन ।

सहयोगको यो शृंखला कति सम्म र कहिले सम्म त्यो त समयले नै बताउने छ । यो त प्रतिनिधि घटना मात्र हो जसमा थापाको सहयोग रहेको छ । बिश्वको सुविधा सम्पन्न राष्ट्र अमेरिकामा रहेर विलासी जीवन जिउन सक्ने थापालाइ नेपालमा रहेका दुखि,पिडित र अशक्तहरुको पीडाले निदाउन दिएन । आफ्नो जीवनका सम्पूर्ण स्वर्णिम र उर्जाशील समय कर्म क्षेत्रमा नै लगाएर कमाएका पसिनाका मुल्यहरु आफ्नो देशमा समाज सेवामा लगाउने उनै दम्पति हेम बहादुर थापा र माया थापा प्रति समर्पित यो गीतबाट दर्शक श्रोतालाइ पनि सामाजिक भावनाले प्रेरित गर्नेछ भन्ने निर्माण टिमको बिश्वाश रहेको छ ।