कोइलीदेवी माथेमा


कोइलीदेवी माथेमा

  • जन्म – वि.स. १९८७ भदौ १२, ऋषि पञ्चमी
  • जन्मस्थान-मकवानपुर, चिसापानी गढी
  • पिता-   रामबहादुर बस्नेत
  • माता- नीलम बस्नेत
  • मृत्यु-२०६४ पुस ७

पुरस्कार / सम्मान
गोरखा दक्षिण बाहु पाँचौँ, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता गीतिपुरस्कार, वीरेन्द्र-ऐश्वर्य सेवा पदक, दर्जनौँ संघसंस्थाबाट सम्मान तथा रेडियो नेपाल तथा टेलिभिजनबाट समेत पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

जन्मिएको एक वर्षपनि भएको थिएन, कोइलीदेवीले आमा गुमाउनु पर्‍यो । त्यसपछि उनी पाँच वर्षो उमेरमा आफ्नी फुपु मानप्रिया भट्टको साथलागेर काठमाडौँ छिरिन् । सानामा उनलाई राधाभन्दा पनि पान्तरी भनेर चिन्थे र त्यही नाम लिएर मखनटोलको स्कूलमा कखग पढ्न थालिन् । फुपु सङ्गीतकी अनुरागी भएका कारण उनलाई सङ्गीत पनि सिकाउन थालिन् । परिवारको माया ममताबाट वञ्चित कोइलीदेवीकी फूपु मानप्रिया निःसन्तान थिइन् । मानप्रियाले छोरीझैँ उनलाई हुर्काइन् बढाइन् । तर फुपुको मृत्युपछि कोइलीदेवी एक्ली भइन् । यही बेला उनको भेट साकारभक्त माथेमासँग भयो । १० वर्ष लामो प्रेमपछि ३५ वर्षको उमेरमा २०२१ साल बैशाख शुक्ल पक्ष अक्षय तृतीयाको दिन पवित्र लगनगाँठोमा बाँधिए । साकारभक्त त्यसबेला ५१ वर्षका थिए अनि उनी ३५ वर्षकी । शायद दुवैको विवाह ढिला र अनमेल भएका कारण पनि सन्तान भएनन् । यता साकारभक्तका परिवारले पनि कोइलीदेवीलाई बुहारी मान्न अस्वीकार गरे । तर २०५६ साल जेठ ८ गते साकारभक्तको देहावसानपछि उनी फेरि एक्लो भइन् ।
साङ्गीतिक जीवन
वाल्यकालदेखि नै साङ्गीतिक वातावरण पाएकी कोइलीदेवीले राणा दरबारमा एक दशक लामो समय गायिका तथा नायिका भएर नृत्य तथा नाटकमा भाग लिइन् । त्यसपछि २००७ सालमा रेडियो नेपालको स्थापनापछि पहिलो पटक चैत २६ गते आफ्नै रचना र सङ्गीतमा उनले गीत गाएकी थिइन् । यो स्वर नै रेडियो नेपालको प्रथम गायिकाका रुपमा प्रख्यात छ । त्यस्तै रेडियो नेपालकी प्रथम महिला सङ्गीतकारको श्रेय पनि उनैलाई जान्छ । त्यसपछि रेडियो नेपाल उनको नियमित गाउने थलो बन्यो ।

रेडियो नेपालसँग उनी ४४ वर्ष गाँसिइन् । खरदार पदबाट उनको बढुवा हुँदै २०४४ साल चैत १५ गते शाखा अधिकृतसरहको पदमा पुगी शास्त्रीय सङ्गीत प्रबन्धकसम्म भइन् ।

२०५९ साल असार ८ गतेदेखि कोइलीदेवीले औपचारिक रुपमा गायन, सङ्गीत र वाद्यवादनलाई तिलाञ्जली दिएको घोषणा गरिन् । आफूसँग भएका हार्मोनियम, तबला, तानपुरा आदि सम्पूर्ण वाद्ययन्त्र ललितपुरस्थित इन्दिरा सङ्गीत महाविद्यालयलाई दान दिइन् । सङ्गीतसँग उनको नाता यस्तो रहृयो कि कोइलीदेवीको पेशा र साङ्गीतिक जीवनलाई छुट्याएर हेर्न मिल्दैन । उनको पेशा भन्नु नै गीतसङ्गीत र रेडियो नेपाल रहृयो ।नेपाली सङ्गीत आकाशकी सुप्रसिद्ध गायिका तथा सङ्गीतकार कोइलीदेवी माथेमाको व्यक्तित्व र कृतित्वको व्याख्या विश्लेषण र चिन्तनको लागि नई प्रकाशनद्वारा कोइलीदेवी सङ्गीत कोषको प्रबन्धक समिति २०५६ समेत स्थापना भएको छ ।