विदेश बाट अघाएं नायिका करिस्मा मानन्धर


नायिका करिश्मा मानन्धर संगको नयाँ पत्रिका दैनिकमा छापिएको अन्तरबार्ता जस्ताको तस्तै
Karishma-Manandhar
देशबाहिर कत्तिको जानुहुन्छ ?
काम पर्दा जान्छु ।
बस्ने गरी जानुहुन्न ?
होलिडेका लागि मात्र ।
होइन, अलिक लामै समय बस्ने गरी ?
अमेरिकामा अलिक समय बसेँ । अब पुग्यो भन्ने सोचेँ, फर्केर आएँ । अहिले पनि जान्छु । वर्षको एकपटक सपिङ गर्न बैंकक जान्छु ।
त्यसो भए स्थायी रूपमा विदेश बस्ने सोच छैन ?
यस्तो सोच ममा कहिल्यै पलाएन । त्यस्तो सोच ममा भएको भए विनोदसँग बिहे गरेपछि लन्डन गएर उतै घरजम गरेर बसिहाल्थेँ नि विदेश बसाइले अघाइसकेँ । अब पुग्यो ।
कसरी अघाउनुभयो ?
यो अघाउने भन्ने कुरा समयले निर्धारण गर्दो रहेछ । त्यतिवेला म यहाँ काम गर्दा–गर्दा वाक्क भएकी थिएँ । त्यतिकैमा अमेरिका गएँ, एक्सप्लोर गरेँ, बुझ्न खोजेको कुरा बुझेँ । गएपछि उताकै व्यवहारमा फस्दै गइँदो रहेछ । एक्लै अमेरिका गएकी थिएँ । व्यवहारलाई सेटेल गरेँ र फर्किएँ । छोरी कविताचाहिँ पढ्न भनेर उतै बसेकी छिन् । विदेशमै सेटल हुने मोह मलाई छैन । अब म घुम्नबाहेक अर्को पर्पोज लिएर विदेश जादिनँ होला ।

अमेरिकामा गएर एक्सप्लोर गरेँ भन्नुभयो, के निष्कर्ष निकाल्नुभयो त ?

इन्डिपेन्डेन्ड बन्नु के हो भन्ने मलाई अमेरिका बसाइले सिकायो । हरेक मानिसले स्वतन्त्रताको चाहना गरेको हुन्छ । फ्रिडम भन्ने कुरा अचम्मको हुन्छ, जुन मानिसको रगतमै हुन्छ र यसको चाहना उसले हरदम गरिरहन्छ । जब उसले फ्रिडम हासिल गर्छ, त्यसपछि उसलाई अरू नै केही चाहिन थाल्छ ।
विदेशमा मानिस फ्री, इन्डिपेन्डेन्ट त हुन्छ नै, सँगसँगै एक्लो पनि हुन्छ । मलाई ‘करिश्मा’ भनेर बोलाइदिनका लागि पनि त सेकेन्ड पर्सन चाहिन्छ नि, होइन ? त्यो सेकेन्ड पर्सन विदेशमा पाइँदैन । अमेरिकामा मानिस ज्यादै एक्लो छ ।
हाम्रोतिरको माहोल बेग्लै छ । यहाँ हामीलाई साथ दिने पूरै परिवार हुन्छ, साथी हुन्छन् । विदेशमा यो सब नहुने भएकाले उता बस्ने सबैले भित्री मनमा रित्तो महसुस गरेका हुन्छन् । पैसा कमाउन अथवा करिअर बनाउन विदेश बस्नेहरूले नेपालजस्तो सहज कहिल्यै महसुस गर्न सक्दैनन् ।
फेरि अर्को कुरा के पनि हो भने फेमिली र फ्रेन्ड सर्कल उतै छ भने पनि विदेशमा मानिसले आफूलाई रित्तो नै महसुस गर्छ । किनकि, ऊसँग देश हुँदैन । मातृभूमि भनेको के हो र यसको महत्त्व, माया हामीमा कति धेरै छ भन्ने कुरा विदेशमा बस्दा जानिन्छ । मातृभूमिप्रतिको माया मैले विदेशमा बिछट्टै महसुस गरेँ ।
यो सब किन भएको होला ?
थाहा छैन । अमेरिकामा म एक्लै थिइनँ । छोरी थिई । विनोद सधैं दशैँमा गइरहनुहुन्थ्यो । ममी पनि वेला–वेलामा जानुहुन्थ्यो । परिवारका सबै भएर पनि म केही चिज मिस गरिरहेकी हुन्थेँ ।
तपाईंले मिस गरेको त्यो ‘केही चिज’चाहिँ के रहेछ ?
देश भनेको आमाजस्तै हो । आमाका काखमा जसले पनि सहज महसुस गर्छ, सुरक्षित महसुस गर्छ । यहाँ मेरो खल्तीमा एक पैसा छैन भने पनि मलाई असुरक्षित महसुस हुँदैन । देशमा हुँदा सेल्फ कन्फिडेन्ट हाई हुन्छ । विदेशमा नयाँ देश, नयाँ सिस्टम, नयाँ माहोल, नयाँ काम, नयाँ मानिसमाझ आफूलाई एडजस्ट गर्नुपर्ने हुन्छ । सबै नयाँ कुरालाई आत्मसात् गर्न सकिँदैन, कम्तीमा मैले सकिनँ । विनोदको सोचाइ पनि मेरोजस्तै छ । उहाँले पनि कहिल्यै विदेशतिरै घरजम गर्ने सोच बनाउनुभएन ।