दक्षिण कोरियामा नेपाली चलचित्रको अवार्ड आयोजना हुने


सेलिब्रेटी नेपाल काठमाडौँ

पहिलो पटक दक्षिण कोरियामा नेपाली चलचित्रको अवार्ड आयोजना हुने भएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा अवार्डको बारेमा जानकारी दिइएको छ । सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा पहिलो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना गर्न लागिएको जानकारी गराइएको हो । यो अवार्डलाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया(एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । ‘कार्यक्रम व्यवस्थापन’को सम्पूर्ण कार्य संगिक्षा फिल्मस्ले गर्नेछ ।

आयोजकले सन् २०१७ को जनवरी १ देखिडिसेम्बरसम्म रिलिज भएका नेपाली चलचित्रलाई अवार्डमा सहभागिताका लागि दर्ता प्रक्रियामा सहभागी हुन आह्वान पनि गरेको छ । कुल २० विधामा अवार्ड प्रदान गरिने जानकारी पत्रकार सम्मेलनमा गराइएको छ ।

पूर्व सांसद मोहन राइले अवार्डको लोगो अनावरण गरेका थिए । यस्तै, निर्देशक मिलन चाम्स, नायिका पूजा शर्मा, नायक हसनराजा खान र गायक यूवराज चौलागाइले संयुक्त रुपमा अवार्ड घोषणाको उद्घाटन गरेका थिए । अवार्ड समारोहमा चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै योगदान पुर्याउने एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।