श्रीदेवीको जीवनको पाँच किस्सा : हलिउड फिल्मको प्रस्ताव अस्वीकार


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड अभिनेत्री श्रीदेवीको १३ अगस्ट अर्थात् आज ५५ औं जन्मजयन्ती हो । उनको जन्म १९६३ मा भएको थियो । आफ्नो फिल्मी करिअरमा २०० भन्दा बढी फिल्ममा काम गरेकी उनको आकस्मिक निधनले प्रशंसकहरुलाई स्तब्ध पारेको थियो । गत २४ फेब्रुअरीमा युएईको दुबईस्थित एक होटलको बाथटबमा डुबेर उनको मृत्यु भयो ।

तेलगु, तमिल, मलयालम र कन्नड भाषाको फिल्ममा पनि काम गरेकी श्रीदेवीले बलिउड फिल्मबाट ख्याति कमाइन् । बालकलाकारका रुपमा प्रसिद्धि कमाएपछि उनले अभिनेत्रीका रुपमा पनि सफलता हात पारिन् । उनको मुख्य भूमिका रहेको अन्तिम फिल्म ‘मम’ (२०१७) हो । साथै, शाहरुख खानको फिल्म ‘जिरो’ मा उनी अन्तिम पटक देखिनेछिन्, जुन आगामी २१ डिसेम्बरमा रिलिज हुनेछ ।

श्रीदेवीको जीवन र फिल्मसँग जोडिएका कैयौं किस्सा बलिउडमा रहेका छन् । तीमध्ये ५ किस्सा यस्ता छन्:

१) ४ वर्षको उमेरमा फिल्ममा डेब्यू
श्रीदेवीले १९६७ मा आएको तमिल भाषाको फिल्म ‘कण्डन करुनाइ’ बाट डेब्यू गरेकी थिइन् । जतिबेला उनको उमेर केवल ४ वर्षको थियो । उक्त फिल्ममा उनले त्यो समयकी चर्चित अभिनेत्री जयललितासँग काम गरेकी थिइन् । हिन्दी फिल्ममा भने उनले ‘रानी मेरा नाम’ (१९७२) बाट बाल कलाकारको रुपमा डेब्यू गरेकी थिइन् ।

२) ज्वरोले ग्रस्त भएको बेला झरीमा सुटिङ
कामप्रतिको समर्पणमा श्रीदेवी अन्य अभिनेत्रीहरुको तुलनामा सधैं अगाडि थिइन् । आफू जतिसुकै दुःख र पीडामा रहे पनि सेटमा क्यामराको अगाडि सबथोक बिर्सेर अभिनयमा लिप्त हुन्थिन् । सन् १९८९ मा बनेको फिल्म ‘चालबाज’ को सुटिङमा उनको यस्तै समर्पण देखिएको थियो । उक्त फिल्ममा श्रीदेवी अञ्जु र मञ्जु नामको डबल रोलमा देखिएकी थिइन् । फिल्मको गीत ‘न जाने कहाँ से आई हे’ त्यसो समय निकै चर्चित थियो ।

उक्त गीतको दृश्यमा श्रीदेवी हाँस्दै रमाउँदै झरीमा रुझेर नाचेको देख्न सकिन्छ । तर, त्यसको सुटिङ उनले निकै कष्टपूर्वक पूरा गरेकी थिइन् । खासमा गीतको सुटिङ गर्ने बेला उनलाई १०३ डिग्री ज्वरोले ग्रस्त बनाएको थियो । यस्तो अवस्थामा पनि उनले झरीमा रुझ्दै सुटिङ गरिन् । उक्त फिल्मका लागि श्रीदेवीले उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड पाएकी थिइन् ।

३) १० लाख पारिश्रमिक माग्दा ११ लाख पाइन्
श्रीदेवीलाई बोनी कपूरले सन् १९७० को दशकमा एक तमिल फिल्ममा देखेका थिए । पहिलो पल्ट देख्नासाथै श्रीदेवीप्रति मोहित भएका थिए बोनी । उनीहरुको निकटता ‘मिस्टर इन्डिया’ (१९८७) को निर्माणअघि बढ्न थालेको थियो । बोनीको लगानी रहेको उक्त फिल्मको स्क्रिप्ट सुन्न श्रीदेवीले १० दिन पर्खाएकी थिइन् । श्रीदेवीलाई उक्त फिल्ममा साइन गराउन उनकी आमाले १० लाख भारु पारिश्रमिक मागेकी थिइन् । तर, बोनीले ११ लाख दिने बताएका थिए । पहिलो पत्नी मोना सुरी कपूरसँगको पारपाचुकेपछि बोनीले १९९६ मा श्रीदेवीसँग विवाह गरेका थिए ।

४) हलिउड फिल्म ‘जुरासिक पार्क’ अस्वीकार
हलिउडका ख्यातिप्राप्त निर्देशक स्टेवेन स्पिलबर्गले फिल्म ‘जुरासिक पार्क’ को एउटा रोलका लागि श्रीदेवीलाई छनोट गरेका थिए । तर, उनले उक्त प्रस्ताव अस्वीकार गरेकी थिइन् । श्रीदेवीलाई भारतीय फिल्महरुमै लगाव थियो । त्यसपछि पनि उनलाई अरु हलिउड फिल्महरुको प्रस्ताव आए, तर तिनमा उनले चासो देखाइनन् ।

५) गहिरो धार्मिक आस्था
श्रीदेवीलाई महाकाल मन्दिर र मीनाक्षी मन्दिरमा गहिरो आस्था थियो । आउटडोर सुटिङ भएको बेला बाहेक उनी दैनिक बिहान र साँझ पूजा गर्थिन् । मध्यप्रदेश राज्य गएको बेला उनी हिन्दुहरुको धार्मिक आस्थाको केन्द्र उज्जैन पुगेकै हुन्थिन् ।

साथै, उनी शारीरिक तन्दुरुस्तीका लागि व्यायाम र योगा गर्थिन् । जुनसुकै शहरमा जाँदा पनि हेयरस्पा गराउने उनको बानी थियो ।