शताब्दी पुरुष जोशीलाई सम्मान,अक्षयकोषमा पाँच लाख


सेलिब्रेटी नेपाल काठमाडौँ

शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको हात बाट सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा जीवित ज्ञान पुरुषका रुपमा स्थापित हुनुभएको बताएकी छिन् । शताब्दी पुरुष जोशीलाई शुक्रबार एक भब्य कार्यक्रमका बीच सम्मान गरिएको छ । सम्मानित व्यक्तित्व जोशीले आफूले पाएको उपाधि नेपाली भाषा र संस्कृतिकर्मी सबैको सम्मान भएको बताउँदै सांस्कृतिक सम्पदा राष्ट्रको पहिचान भएको स्पष्ट गरे । पूर्वमन्त्री तीर्थराम डंगोलले जोशीलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न माग गरे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साहित्य र संस्कृतिमार्फत जोशीले देश एवम् जनताका लागि काम गर्नुभएको बताउँदै जोशीका नाममा स्थापना हुने अक्षयकोषका लागि महानगरपालिकाका तर्फबाट रु पाँच लाख दिने घोषणा गरे । यसअघि जोशीलाई वसन्तपुरदेखि बाजागाजा र पदयात्रासहित रथमा राखेर कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा ल्याइएको थियो । जोशीलाई सरकारले विसं २०७४ वैशाख २१ गते सो उपाधि दिएको थियो । ९८ वर्षको भए पनि जोशी अझै हट्टाकट्टा छन् ।