सन्तोषको ‘मेरी मामु’ बाट आयुव र कुसुमको डेब्यु


सेलिब्रेटी नेपाल काठमाडौँ

‘प्रेम गीत’ र ‘प्रेम गीत २’ जस्ता सफल चलचित्र निर्माण गरेको आसुसेन फिल्मस्को चौथो प्रस्तुतिका रुपमा बन्न लागेको चलचित्र ‘मेरी मामु’ मा ६ बर्षका बालक आयुव सेन र लण्डन निवासी कुसुम गुरुङले अभिनयमा डेब्यु गर्ने भएका छन् ।

चलचित्रमा कुशुमले बालकको आमाको भूमिका निर्वाह गर्ने निर्माता सन्तोष सेनले बताए । आमा छोरा बीचको प्रेमकथा चलचित्रले बोल्ने उनको भनाई रहेको छ । थिएटर अभिनय अनुभव भएकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयको प्रशिक्षण लिएकी हुन् । उनले सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकबाट धेरैको मन जित्न सफल भएकी थिइन् ।

सानैदेखि अभिनयप्रति रुचि भएकी गुरुङ चलचित्र अभिनयका लागि लण्डनबाट नेपाल आएको निर्माण युनिटले जनाएको छ । गुरुङले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् । बालमनोविज्ञानमा बन्ने चलचित्रका मुख्य पात्र आयुव निर्माता सेनका छोरा हुन् । अहिले वर्कसप भइरहेको चलचित्र ३ असारबाट छायाँकनमा जाने तयारीमा रहेको छ ।