रोज विश्लेषण: हतारमा लतार गर्दा चिप्लिए प्रदीप


सेलिब्रेटी नेपाल काठमाडौँ

पहिलो सुपरफ्लप त्यसपछि तीन हिट चलचित्र दिएर ह्याट्रिक गरेका अभिनेता प्रदीप खड्कालाई झट्का लागेको छ । यतिबेला प्रदर्शनरत चलचित्र ‘रोज’बाट उनले नराम्रो झट्का खानुपरेको छ । चलचित्रको बक्सअफिस नतिजा आउँदै गर्दा ‘रोज’ सोचेअनुरुपको नहुनु उनका लागि झट्का हो ।

बक्सअफिसको पूर्ण नतिजाको लागि १ साता कुर्ने पर्ने हुन्छ । तर, पनि चलचित्रले बक्सअफिसमा सोचेभन्दा निक्कै कमजोर सुरुवात गरेको छ । सातादिन नबित्दासम्म यो विषयमा अलि नलेख्दा नै वेस । अब चलचित्र कस्तो बनेको छ ? त्यतातिर चर्चा गरौँ ।

एक प्रेमीले के कारणले प्रेमिका मार्न विवस हुन्छ भन्ने मुख्य कथा प्रस्तुत गरेको चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । केदार भुसालको कथामा उनले यति फितलो निर्देशन गरेका छन्, की चलचित्रका कमि-कमजोरी जो कोहि दर्शकले पनि मनन् गर्न सक्छन । चलचित्र पूर्णत हतार मै निर्माण गरिएको भान हुन्छ । र ‘रोज’, ‘रामकहानी’सँग जुधाउनकै लागि निर्माण गरिएको आरोप थप पुष्टि हुन जान्छ ।

चलचित्रका मुख्य कमजोर पक्ष छायाँकन, लाइट, पटकथा, अभिनय, ब्याकग्राउण्ड म्युजिक, सम्पादनमा देखिएका छन् । यी विधामा कमजोर हुनु भनेको स्वत: निर्देशनमै कमजोरी हुनु हो । चलचित्र नराम्रो बन्नुको सबै जस निर्देशकलाई मात्र दिन मिल्थ्यो । तर, प्रचारताका प्रदीपले बोलेका स्टेटमेन्टलाई लिएर उनिमाथि पनि आरोप थुपार्दा अन्याय नहोला । चलचित्रबारे प्रदीप जस्तो बखान गरेका थिए, त्यो बखानमै सिमित छ । प्राय: सबै विधामा कमजोर रहेको चलचित्र छिट्टै पुरानो बन्नेमा दुई मत छैन । जब चलचित्र प्राविधिक रुपमा कमजोर बन्छ, तब उसको आयु त्यतिकै पनि घट्दै जान्छ । अझ भन्नु पर्दा चलचित्रसँग जोडिएका टिमको नाम, ‘रोज’ नामको एउटा चलचित्र थपिनुबाहेक यो चलचित्र गरेर कसैलाई पनि गर्व हुनेछैन ।कथा नेपाली चलचित्रको लागि फ्रेस भएपनि पटकथामा कमजोर बन्दा दर्शकले हल बाहिर निक्लने बितिकै बिर्सनेछन ।

प्रदीपको स्टेटमेन्ट विपरित:

प्रदीपले प्रचारताका अहिले नै कन्टेन्टबेस चलचित्र नखेल्ने र दर्शकलाई आँखालाई शितलता प्रदान गर्ने चलचित्र खेल्ने बताएका थिए । त्यसको लागि विदेश छायाँकन जरुरि रहेको उनको स्टेटमेन्ट थियो । तर, विदेशमा क्यामरा हल्लाउदैमा राम्रो दृश्य कैद हुन्छ भन्ने सोचाइमा प्रदीप छन्, यो ‘रोज’ले पुष्टि गर्छ । विदेशमा छायाँकन गरिएका दृश्यले शितलता होइन प्रचण्ड गर्मी छर्छन ।

उसो त विदेशमै राम्रो दृश्य कैद हुने भरोसा राख्ने प्रदीपले एक गीतको छायाँकन नेपालमै सिध्याएका छन् । उक्त गीतको त कुरै नगरौँ । अपरिपक्क डान्स स्टेप्सका साथै लाइट, क्यामरा, कस्ट्युम, लोकेशन, कोरियोग्राफीमै गीतले फेल खाएको छ । त्यस्तै प्रदीपले अभिनयमा पनि खास ग्रोथ गर्न सकेका छैनन् । अन्य चलचित्रभन्दा भिन्न लूक्समा प्रदापण हुनु बाहेक प्रदीपले भूमिकामा न्याय गर्न सकेका छैनन् ।

यदि तपाई ‘रोज’को बारेमा सुरुवातदेखि नै जानकार हुनु हुन्छ भने, ‘रामकहानी’सँग चलचित्र जुधाउन प्रदीपलाई कतिसम्मको हतार रहेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ । हतारमै गरिएको प्रदीपको ‘रोज’ लतार भएको छ । यदि प्रदीपको प्रशंसक हुनुहुन्छ भने पनि चलचित्र हेरेर मन खिन्न बनाउनु बाहेक अर्को विकल्प रहन्न ।