प्रेमगीत २ ले उत्कृष्ट दुई सय पचास कभर गीत छान्यो


सेलिब्रेटी नेपाल काठमाडौँ

‘प्रेमगीत २’ ले विश्वभरबाट प्राप्त आठसय कभर गीत भिडियो मध्ये २ सय ५० लाई उत्कृष्ट छनौट गरेको छ । यी सबै भिडियो बिहीबार भिडियो साझेदारी साइट युट्युवमा रिलिज भएका छन् ।

निर्माता कम्पनी आशुसेन फिल्मसका अनुसार भदौ दोस्रो साता यी भिडियो मध्येबाट उत्कृष्ट १५ हुँदै सर्वोत्कृष्ट दुई घोषित हुनेछन् । महिला र पुरुषद्धारा निर्देशित सर्वोत्कृष्ट भिडियोले जनही एक–एक लाख नगद र ब्यानरको अब बन्ने चलचित्रमा पाश्र्वगायनको मौका पाउने छन् ।

भदौ पहिलो साता भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गरिनेछ । यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सिधैं उक्त राउन्डका लागि समावेश गरिने भएको छ ।

चलचित्रको शीर्ष गीत ‘कहानी यो प्रेमगीतको…’माथि कभर गीत प्रतिस्पर्धा आह्वान गरिएको थियो ।

‘हामीलाई नेपालसहित विदेशबाट निकै स्तरिय कभर गीत प्राप्त भएका छन्’ निर्माता एवं अभिनेता सन्तोष सेनले भने, ‘यो हाम्रा लागि उत्साहप्रद पक्ष हो र गायनप्रति युवा क्रेज सुखद छ ।’

असार १३ गते सिनेमा प्रेमगीत २ रिलिज हुँदैछ । यसैसाता देशव्यापी सांगीतिक दौडाहा सकेको फिल्मले युवा पुस्तालाई पाश्र्वगायनमा मौका दिन प्रतिस्पर्धा आह्वान गरेको हो । देशभक्ति प्रेमकथा बोकेको सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।

प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, कैलाश कट्वाल, राजाराम पौड्याल लगायतको मुख्य भूमिका रहेको चलचित्र नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ ।