प्रदिप बडीगार्ड सहित हलमा पुग्दा घेरे फ्यानले ! रुचाए दर्शकले ‘लिलिबिली'(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नयाँ वर्षको छेको पारि २०७४ को अन्तिम दिन प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ले आक्रामक ब्यापारको सुरुवात गरेको छ । प्रदर्शनको दोस्रो दिन अर्थात बैशाख १ गते चलचित्रले देशभरका सबै हलमा हाउसफुलको व्यापार गर्न सफल भएको छ । देशका सबैजसो हल हाउसफुल बन्दा केहि हलमा दर्शकले टिकट नपाएर फर्केका समेत खबरहरु प्राप्त भएको छ । शनिबार दर्शकलाई नयाँ वर्षको शुभकामना दिन र ‘लिलिबिली’ प्रतिक्रिया बुझ्न प्रदीपसँगै अभिनेत्री जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता गोविन्द शाही,निर्माता सुदिप खड्का उपत्यकाका विभिन्न हलमा पुगे । जहाँ प्रदीपको क्रेज मज्जैले देख्न सकिन्थ्यो । शनिवार दिउँसो साढे १ बजे बडिगार्डसहित प्रदीप र जसिता राजधानीको गोपीकृष्ण हलमा दर्शक भेट्न पुगे । त्यहाँ पनि टिकट काट्नेको भीड थामिसक्नु थिएन । २ बजेको शोका लागि दर्शकहरु १२ बजेदेखि नै टिकट काउन्टरमा चर्को घाम सहेर उभिरहेका थिए ।

प्रदीप र जसितालाई देखेपछि उनीहरुमा जोश आयो । त्यसपछि त गोपीकृष्ण हलमा ‘प्रदीप-प्रदीप’ भन्दै गुञ्जिएको आवाज मात्र सुनिन्थ्यो । दर्शकको भीड देखेर प्रदीप खुसी मुद्रामा देखिन्थे । गोपीकृष्णको ग्राउन्डबाट बालकुनी पुग्दा प्रदीपलाई फ्यानको भीडबाट बचाउन बडिगार्ड समेत पसिना- पसिना भएका थिए । उनले सकेसम्म दर्शकलाई निराश बनाएनन् । उनी हात मिलाउँदै र तानातान गरिरहेका दर्शकको सेल्फीमा पनि सकभर अट्ने प्रयास गरे । दिउँसो गोपीकृष्ण हलले ‘लिलिबिली’ लाई उपलब्ध गराएको ‘गोपी’ र ‘ऊँ’ हल हाउसफुल भएका थिए । टिकट नपाएर कयौं दर्शक निराश हुँदै घर समेत फर्किन बाध्य भए ।

चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।