‘पंचायत’ प्रचण्ड,झलनाथ लगाएत नेताहरुको बीच प्रिमियर सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी चैत २ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पंचायत’को शुक्रबार राती काठमाडौको कुमारीहलमा शिर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ । पुर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, कलाकार, पत्रकार, चलचित्रकर्मी लगायत ३०० भन्दा बढीको सहभागितमा शुक्रबार साँझ प्रिमियर सो गरिएको थियो ।

चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट चलचित्र बनेको भन्दै चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुतिको तारिफ गरेका छन् । २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा सँस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ ।

चलचित्र पंचायत हेरेपछि पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भन्नुभयो, ‘चलचित्रले त्यतीबेलाको सामाजिक साँस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ।’उहाँले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिनुभयो ।

अर्का पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गनुयभयो । ‘चलचित्रमा समाजको यथार्थ प्रतिबिम्व छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।’ खनालले भन्नुभयो ।

पुर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन, अनन्तले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठुलो कुरा भएको उल्लेख गर्नुभयो ।

पुर्व उर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्मा, प्रभाकरले पुरानो भएपनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हृदयविदारक दृष्य प्रस्तुत गरेको छ धेरै राम्रो छ ।’

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाज त्यसमाथिपनि ग्रामिणभेगको थुप्रै घटना चलचित्रमा उद्घाटीत भएको प्रतिक्रिया दिनुभयो । चलचित्र ससक्त बनेको उल्लेख गर्नुहुँदै भट्टराईले निर्माण समुहलाई बधाई दिनुभयो ।

नेपाली काँग्रेसका नेता तथा पुर्व संचारमन्त्री मिनेन्द्र रिजालले शक्तिशाली विषयबस्तुमा चलचित्र पंचायत बनेको भन्दै तारिफ गर्नुभयो । चलचित्रमा घटेको घटना अब समाजमा नघटुन् भन्ने सन्देश दिन खोजेको आफुले पाएको रिजालको भनाई थियो ।

चलचित्रको ‘प्रिमियर ‘सो’मा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पुर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, काँग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, आकास अधिकारी, सोभित बस्नेत जयकिशन बस्नेत लगायत कलाकार र पत्रकारहरुको सहभागिता थियो ।

गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्मातामा रवि अधिकारी हुनुहुन्छ । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका नीता ढुंगानाले शिर्ष नेताहरुबाट तारिफ पाएकाले सहि चलचित्रमा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिए ।

खनाल र ढुंगानासँगै उक्त चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ । पंचायतले अमेरिकामा २१७ चलचित्र मध्ये उत्कृष्ट अवार्ड पाईसकेको छ ।