नेपाली चलचित्रका उस्तै नाम


सेलिब्रेटी नेपाल काठमाडौँ

झन्डै डेढ दशकको विश्रामपछि अशोक शर्माले ‘जय भोले’ चलचित्रबाट निर्देशनमा ‘कमब्याक’ गरेका छन् । शर्माको जय भोलेको शिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि सुटिङ थालिएको हो । जय भोलेको सुटिङ सुरु भइरहेको अवस्थामा केही दिनअघि राजधानीमा ‘जय शम्भो’ नामक चलचित्र निर्माण घोषणा गरियो । जय शम्भो रूपेश तामाङले निर्देशन गर्दै छन् ।

शर्माको ‘जय भोले’को प्रदर्शन मिति ०७५ को फुलपाती तोकिएको छ भने तामाङको ‘जय शम्भो’ साउन १ गते नै प्रदर्शनमा ल्याइने घोषणा गरिएको छ । ‘जय भोले’ र ‘जय शम्भो’को मुख्य अर्थ एउटै हो । एउटै सुनिने र अर्थ लाग्ने नाममा फिल्म बनाउन शर्मा र तामाङझैँ अन्य केही निर्माता, निर्देशक पनि हच्किएका छैनन् ।

विगतका दिनमा पनि उस्तै, एउटै अर्थ लाग्ने नाममा थुप्रै फिल्म बनेका छन् । निर्देशक शिव रेग्मीले ‘आफन्त’ नाममा फिल्म बनाए । अर्का निर्देशक दीपक श्रेष्ठले ‘आफ्नोपन’ नाममा फिल्म बनाए । त्यसैगरी, रेग्मीले आफ्नो मान्छे बनाए । निर्देशक नारायण पुरीले आफ्नो घर आफ्नो मान्छे बनाए । रेग्मीले सुखदुःख बनाए । श्रेष्ठले दुःख बनाए । प्रदीप श्रेष्ठले अजम्बरी नाता बनाए । दीपक श्रेष्ठले अजम्बरी माया बनाए । त्यति मात्रै कहाँ हो र ? रेग्मीले ए मेरो हजुर बनाउँदा पुरीले मेरो हजुर बनाए ।

नाम के राख्ने भन्ने बहस र विवाद नयाँ विषय होइन । चर्चित नेपाली फिल्मका अधिकांश नाम दोहोरिइसकेका छन् । तुलसी घिमिरे निर्देशित कुसुमे रुमाल, चिनो, दर्पण छाया, लाहुरेलगायत फिल्मका नाम दोहोरिइसकेका छन् । घिमिरेको कुसुमे रुमाललाई नीरज पौडेलले दोहोर्‍याए भने चिनो शोभित बस्नेत र दर्पण छाया घिमिरे आफैँले दोहोर्‍याए ।

प्रकाश थापा निर्देशित कन्यादान, सन्तान र सिन्दूरका नाम पनि दोहोर्‍याइयो । कन्यादान शोभित बस्नेतले दोहोर्‍याएका हुन् भने सन्तान राजु पराजुली र सिन्दूरलाई गोविन्द गौतमले । तर, नाम दोहोरिएका कुनै फिल्मले पनि पुरानाको जस्तो साखचाहिँ बनाउन सकेनन् ।

शम्भु प्रधानको निर्देशनमा भुवन केसीले निर्माण गरेको सपनाको नाम दोहोरियो । प्रदीप श्रेष्ठले हरि बरालको निर्माणमा सपना निर्देशन गरे । भुवनको सपनामा भुवन आफैँ, कृष्टि मैनाली, मौसमी मल्ललगायतले अभिनय गरेका थिए भने प्रदीपको सपनामा आर्यन सिग्देल र नन्दिता केसी मुख्य भूमिकामा थिए । अगाडिको सपना सुपरहिट भएको थियो । पछाडिको फ्लप । सपनाको अंग्रेजीचाहिँ भुवन आफैँले निर्माण गरे– ड्रिम्स । अनमोल केसी र साम्राज्ञी शाह अभिनीत ड्रिम्स हिट भएको थियो।

नेपाली फिल्ममा नामको खडेरी लाग्न थालेको धेरै भयो । त्यसकारण कतिपय अनौठा नाम पनि राख्ने गरिएको छ । दयाराम दाहालको निर्देशनमा तँ त साह्रै बिग्रिस नि बद्री निर्माण भएको थियो । त्यसको झन्डै एक दशकपछि जयकिसन बस्नेतले तँ त साह्रै सप्रिस् नि बद्री निर्माण गरे ।

अघिल्लो फिल्म चल्यो भनेर सिक्वेल बनाउने क्रम पनि उत्तिकै कायम छ । लुट हिट भएकाले निश्चल बस्नेतले लुट–२, विकास आचार्यले नाइँ नभन्नू ल हिट भएपछि नाइँ नभन्नु ल २, ३ र ४ निर्माण गरिसकेका छन् । अब उनी नाइँ नभन्नू ल ५ निर्माणको तयारीमा जुटेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाले छक्का पन्जा बम्पर हिट भएपछि छक्का पन्जा २ निर्माण गरे ।

अब उनीहरू छक्का पन्जा ३ को तयारीमा छन् । चपली हाइटबाट नाफा कमाएपछि अर्जुनकुमारले चपली हाइट–२ निर्माण गरे । अघिल्लोजस्तो दोस्रो चपलीहाइट चलेन । अर्जुनकुमारले फाटेको जुत्ता हिट भएकोे भन्दै त्यसको सिक्वेल बनाउने घोषणा गरिसकेका छन् ।

अभिनेत्री रेखा थापाले नयाँ फिल्म लाल मस्तिष्क निर्माण घोषणा गरेकी छिन् । वैशाख अन्तिमबाट सुटिङ सुरु गरिने सो फिल्म सम्झना उप्रेती रौनियारले निर्देशन गर्दै छिन् । लाल मस्तिकझैँ लाग्ने नामका लालसलाम, लालजोडी, लालटिन, लाले फिल्म निर्माण भइसकेका छन् ।

मायाप्रेम दर्शाउने नाममा पनि ब्रगेल्ती फिल्म बनेका छन् । मायालु, माया प्रीति, माया, पहिलो प्रेम, आमाको माया, मायाको साइनो, मायाको जाल, मायाको बारीमा, के यो माया हो, हो यही माया हो, यो साइनो मायाको, बाँध मायालेलगायतका नाममा फिल्म बनिसकेका छन् ।

गत शुक्रबार पञ्चेबाजा फिल्म प्रदर्शन भयो । आगामी शुक्रबार भने गाजाबाजा दर्शकमाझ आउँदै छ । चार वर्षअघि आकाश अधिकारीको काठमाडौं प्रदर्शन भएको थियो । अब चैत पहिलो साता दीपक रायमाझी निर्देशित अन्तिम फिल्म डेस्टिनेसन काठमाडाैँ प्रदर्शन हुँदै छ । काठमाडौं नाममा बनेको अर्काे एउटा फिल्म छ– गुड बाई काठमाडौं । नवीन सुब्बा निर्देशित त्यो फिल्म कहिले रिलिज हुन्छ, निर्देशक सुब्बा आफँैलाई थाहा छैन ।

रोज राणाले ०७३ साउनमा जय पर्शुराम फिल्म प्रदर्शन गरे । जबकि त्यही वेलामा एनआर घिमिरेले पर्शुराम नामक फिल्म प्रदर्शन गर्छु भन्दै हिँडेका थिए । तर, एनआरको पर्शुरामले अझैसम्म पनि हलको मुख देख्न पाएको छैन । केही साताअघि फिर्के फिल्म प्रदर्शनमा आयो । फिर्केझैँ नामको फुर्के पनि प्रदर्शनका लागि तयार भएको छ ।

लक्ष्मण रिजालले धुवाँ यो नसा निर्माण गरे । त्यही समयमा सौरभ ढकालले धुवाँ नाममा फिल्म बनाउने घोषणा गरे । धुवाँ नामका लागि निर्माताबीच हानाथाप परेको थियो । सौरभको धुवाँ भने अहिलेसम्म
बनेको छैन ।

फिल्मको नाम के राख्ने भन्नेमा निर्माता, निर्देशकमा तनाव हुने गरेको छ । ‘प्रायः सबै नाममा फिल्म बनेका छन्, के नाम राख्ने निक्र्याेल नै गर्न सकेको छैन,’ नयाँ फिल्म निर्माण थालेका निर्देशक मधुसूदन भट्टराईको गुनासो छ, ‘स्क्रिप्टअनुसारको नाम राख्ने बानी छ । त्यसैले तनाव भएको छ ।’

फिल्मको कथा एकातिर, नाम अर्काेतिर अर्थात् कुनै पनि तवरले फिल्मको विषय र नाममा तालमेल नमिलाई फिल्म बनाउने गरिएको समेत पाइन्छ । तथास्तु, कबड्डी, हिटलर, पर्व, ऐश्वर्य, फाटेको जुत्तालगायतका फिल्मको विषय र नाममा तालमेल पाइँदैन । यस्ता फिल्म थुप्रै छन् ।
नयाँपत्रिका बाट जस्ताको तेस्तै