नेपाल आइडलले देखाएको संगीतको वजार


सेलिब्रेटी नेपाल काठमाडौँ
एपी वान टेलिभिजनमा प्रसारण भइरहेको नेपाली संगीतको ‘रियालिटी सो’ नेपाल आइडल अन्तिम चरणमा पुगेको छ । आगामी हप्ता कतारको राजधानी दोहा स्थित सनाया एम्पीथिएटरमा आ–आफ्ना गीत गाइसकेपछि अहिले उत्कृष्ट तीनमा परेका नयाँ गायकहरु निशान भट्टराई, बुद्ध लामा र प्रताप दास मध्येबाट विजयीहरु छानिनेछन् । प्रतिस्पर्धासँगै गायन कलालाई तिखार्न साधना तथा प्रस्तुतीमा समेत ध्यान दिएर चलाइएको रियालिटी सोले अहिले धेरै नेपाली संगीत प्रेमीको ध्यान खिचेको छ ।

प्रतिस्पर्धी तीनैजना गायकहरु राम्रो गाउँछन् । सवैको उमेरले अव आउने लामो सांगीतिक जीवनको यात्रा उनीहरुसँग बाँकी छ भन्ने देखाइरहेको छ । प्रतियोगितामा को अगाडि वा पछाडि होला भन्ने तर्फ धेरैको जिज्ञासा पनि छ ।

केही हप्ताअघि नेपाल आइडलको एउटा श्रृंखलामा अतिथि निर्णायक बनेर आएका गायक राजेशपायल राईको प्रतियोगीलाई सुझाव थियो– तपाईंहरु सबै राम्रो गाउनुहुन्छ । तर, यस कार्यक्रमबाट बाहिर गइसकेपछि भोलि गीत गाएर तपाईंको चुल्हो बल्छ कि बल्दैन भन्ने कुराले मात्र तपाईंको सफलता वा असफलता निर्धारण गर्छ ।

नेपाली संगीत आकाशमा राजेशपायल राई सफल गायक हुन् । उनको सफलताअघि उनको संघर्ष पनि त्यतिकै सघन थियो । त्यसैले गीत गाएर चुल्हो बाल्न सक्नुलाई मात्र उनले गायकीको सफलता मान्नु उनको लामो संघर्षको निश्कर्ष मान्न सकिन्छ । यो कुरा किन महत्वपूर्ण छ भने नेपाली कलाकारिता, खासगरी गीत संगीतको क्षेत्र अहिले पनि पेशा बन्न सकिरहेको छैन । वा भनौं थोरै गायक र संगीतकारले मात्र यसलाई चुल्हो बाल्न सक्नेगरीको पेशा बनाएका छन् ।

आरम्भ देखि होस् वा आधुनिक समय, नेपाली संगीत र गायकी भर्खर मात्र पेशा बन्ने चरणमा आइपुगेको हो । नेपाली संगीतको स्वर्णयुग मानिने नारायणगोपाल, प्रेमध्वज, नातिकाजी, अम्बर गुरुङ र गोपाल योञ्जनको समय पनि संगीतलाई पेशा बनाउन सकिने समय थिएन । उनीहरुका सिर्जना कालजयी अवश्य थिए, शक्तिसाली अवश्य थिए तर, त्यसैबाट जीवन चलाउन सकिने अवस्था थिएन ।

अव आएर नेपाली संगीत क्षेत्रले विस्तारै कोल्टे फेर्न थालेको आभाष भइरहेको छ । नेपाल आइडलकै एउटा कार्यक्रममा अतिथि बोलाइएका कवि तथा गीतकार विप्लव प्रतीकले भनेका थिए– नेपाली टेलिभिजनको क्षेत्रमा दुईवटा क्रान्ति भए । पहिलो क्रान्ति ०४२ सालमा नेपाल टेलिभिजनको स्थापना थियो भने दोस्रो क्रान्ति एपीवान टेलिभिजनले सुरुवात गरेको हाइ डेफिनिशन प्रविधि हो भन्ने उनको ठोकुवा थियो । उनको भनाईसँग सहमत वा असहमत हुन सकिएला । तर, नेपाल आइडलको लोकप्रियताले के चाहिँ क्रान्ति गरिदिएको छ भने अव नेपाली गीत संगीतका प्रतिभाहरु आफ्नो साधनालाई नै पेशा बनाएर चुल्हो बाल्न सक्ने अवस्थामा पुग्छन् । यो चाहिँ ठूलो क्रान्ति नै हो ।

नेपाली संगीतको स्वर्णयुग मानिने नारायणगोपाल, प्रेमध्वज, नातिकाजी, अम्बर गुरुङ र गोपाल योञ्जनको समय पनि संगीतलाई पेशा बनाउन सकिने समय थिएन । उनीहरुका सिर्जना कालजयी अवश्य थिए, शक्तिसाली अवश्य थिए तर, त्यसैबाट जीवन चलाउन सकिने अवस्था थिएन । नेपाल आइडलले यो अवस्था फेर्न सकिने वजार नेपालमै छ भन्ने देखाइदिएको छ ।
गीतले प्रतिभालाई मात्र चिनाउँदैन । यसले त अप्रत्यक्ष रुपमा भाषाको सेवा गर्छ र देशलाई जोड्न मदत गरिरहेको हुन्छ । नेपाल आइडलका प्रतिभालाई वजार मार्फत सर्लक्कै नेपाली दर्शक श्रोताका काँधमा चढाइदिएर अहिलेसम्म छुन नसकिएको संगीतको वजार पनि नेपाल आइडलले देखाइदिएको छ । भारतमा यस्तो क्रान्ति उनीहरुको स्वतन्त्रता सँगै अगाडि बढेको फिल्म उद्योगले गरेको थियो । फिल्म सँगै संगीतको विस्तार भयो र त्यसले भाषिक रुपमा विभक्त भारतलाई जोड्ने काम पनि गर्यो ।

ढिलै भए पनि नेपाल आइडलले नेपाली संगीतको वजार फराकिलो छ भन्ने देखाएको छ । नेपाली गीत मार्फत र ती गीत गाउँने गायक अनि धून भर्ने संगीतकार मार्फत नेपाल राष्ट्रको भावनात्मक एकीकरण गर्न सकिन्छ भन्ने पनि देखाएको छ । वजार र भाषा आपसमा जोडिए पनि राजनीतिले गर्न नसकेको सामाजिक क्रान्ति सम्पन्न हुन सक्छ । भारत लगायत धेरै देशले यसको उदाहरण प्रस्तुत गरिसकेका छन् । आइडलमा तीनैजना प्रतिस्पर्धीलाई हाम्रो शुभकामना ।
चक्रपथ डट कमबाट जस्ताको तेस्तै