नील डेविड्स सलून दीपक दीपाले गरे उद्घाटन


सेलिब्रेटी नेपाल काठमाडौँ

अन्तर्राष्ट्रि्य रुपमा स्थापित नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालको नयाँ सलून काठमाडौंको सिटी सेन्टरमा पनि सञ्चालनमा आएको छ । शनिवार चलचित्र अभिनेता दीपकराज गिरी, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला तथा हेयरस्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा सलूनको रिबन काटेका हुन् ।

नेपाल तथा भारतमा स्थापित भैसकेका हेयर स्टाइलिस्ट कटवालको यो ५४ औं सलून हो । सिटी सेन्टरको सलूनलाई युवा उद्यमी आकाश तामाङले सञ्चालनमा ल्याएका हुन् ।
सलुनको रिबन काट्दै अभिनेता दीपकराज गिरीले नाम ‘नील’ अर्थात भएपनि कटवालले हेयर स्टाइलको क्षेत्रमा दर्जनौं गोल गर्न सफल भएको प्रतिक्रिया दिए । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले पनि नील डेविडलाई शुभकामना दिँदै व्यक्तिलाई सुन्दर देखाउने कलालाई स्वदेशदेखि विदेशसम्म फैलाउन सफल भएकोमा बधाइ दिइन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै हेयर स्टाइलिस्ट कटवालले नेपालीको मायाकै कारण आफू स्वदेशमा मात्र होइन विदेशमा समेत सक्रिय हुन सफल भएकोमा सबैलाई धन्यवाद दिए । सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको नील डेविड्स ईन्टरनेशनल यूनिसेक्स सलूनमा अत्याधुनिक प्रविधियुक्त उपकरण, गुणस्तरीय कस्मेटिक तथा प्रशिक्षित हेयर स्टाइलिस्टहरुले सेवा प्रदान गर्ने सञ्चालक आकाश तामाङले बताए ।

नील डेविडको हेयर एण्ड ब्यूटी सलूनका शाखाहरु नेपालको काठमाडौंसहित विभिन्न शहरहरुमा विस्तार भैसकेको छ भने भारतमा पनि विभिन्न चार वटा राज्य तथा १० शहरहरुमा विभिन्न ५० शाखा सञ्चालनमा छन् । यसका साथै सलूनको शाखालाई अस्ट्रेलिया तथा लण्डनमा पनि चाँडै नै सञ्चालनमा ल्याइने नील डेविडले यस अघि नै घोषणा गरेका छन् ।