नानीको एकल नाटक ‘जुनकिरी’ असोज ५ सम्म नाचघरमा


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली समाजको विसङ्गति र नारी अस्मिताको रक्षाका बिषयमा उठाइएको नाटक ‘जुनकिरी’ राजधानीमा मञ्चन शुरु भएको छ । कलाकार नानी थापाको एकल अभिनय रहेको नाटक एकीकृत माझी नमुनाबस्ती विकासका लागि सोमबारबाट सुरु भएको नाटक लोटस फोटोग्राफी स्कूलले प्रस्तुत गरेको हो ।

पुरुषप्रधान नेपाली समाजमा छोरा र छोरीबीच रहेको प्राकृतिक भिन्नताका आधारमा नारीले जन्मकालबाट नै खप्नुपरेको सास्तीपूर्ण व्यवहारको प्रभावबाट नाटकको कथा विकसित भएको छ । बाल कलाकारको रुपमा १० वर्षको उमेरदेखि नै नाटक अभिनय गर्दै आएकी थापाकै लेखन र निर्देशनसमेत रहेको जुनकिरी असोज ५ सम्म नाचघरमा जारी रहने आयोजकले जानकारी दिएको छ ।

सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यस्की पात्र स्वयम् जूनकिरी र आकाशकी जून जो दुबै सुर्यको उज्यालोमा भन्दा पनि बरु अन्धकार रातमा बढी चम्किन्छन र अस्तित्व प्राप्त गर्दछन, उनीहरुबिचको यहि समानताहरु र केही भिन्नताहरुलाइ बिम्बको रुपमा प्रस्तुत गर्दै एउटी सामान्य गाउँकी युवती कसरी व्यवसायिक हाइ प्रोफाइल कल गर्ल हुन पुग्छे र एक दशक जीवनकालको यात्रामा उसंग जोडिएका र छुट्टिएका केही पात्रहरुको कथा पनि संगसंगै बुन्दै लैजान्छे ।

एक आँटिली र बिद्रोही स्वभाबकी पात्र जूनकिरी नाटकभित्र महिला शसक्तिकरणको एउटा दरिलो संदेश बोकेर जूनकिरीले पुरै समाज, कानून, राज्य व्यवस्था र विश्व समुदायलाइ नै कडा व्यंग्य गर्दै चुनौती दिन पनि पछि हटेकी छैन भने कथाभित्र आमा बाबा र आफूले प्रेम गरेको युवकको लागि जूनकिरीको अत्यन्तै उदार प्रेम र समर्पणको भाव नाटकभित्र छताछुल्ल पोख्ने कोसिस पनि गरिएको छ ।
साहित्यमा रुचि भएकी जूनकिरीले नाटकभित्र गीत, नृत्य,कबिता लगायत हास्य, करुणा, श्रृङगार, विर, रौद्र, विभत्स, भयानक लगायत लगभग अभिनयका नौ ओटै रसहरुबाट पात्रको मनोबैज्ञानिक विचलन नाटक जूनकिरी मार्फत देखाइएको छ ।

यस नाटक गत साल २०७३ भाद्रमा ११ शो मञ्चन गरिएको थियो जुन गुरु अशेष मल्ल प्रति गुरुदक्षिणाको स्वरुप समर्पित गरिएको थियो ।