‘मिस्टर एण्ड मिस एम्पेरर’ काठमाण्डौको तेश्रो अडिशन हुँदै,हालसम्म ३८ जना छानिए


सेलिब्रेटी नेपाल काठमाडौँ

‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौ अडिशनको पहिलो र दोश्रो चरण सम्पन्न भएको छ । उक्त अडिशनबाट ३८ जना प्रतिस्पर्धी छानिएका छन् । अब तेश्रो अडिशन असार २३ गते हुने बताईएको छ । तेश्रो अडिशनबाट केहि प्रतिस्पर्धी छानिएपछि असार २६ गतेबाट ट्रेनिङ् सेसनमा लगिने बताईएको छ । जसका लागि आवेदन वितरण भईरहेको छ । असार २३ गते दरबारमार्गस्थित ‘दरबार लञ्ज’मा अडिशन हुने बताईएको छ ।

‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले आयोजना गर्न लागेको यो प्रतियोगिता देशभरका प्रतिभालाई नेपाली चलचित्र तथा संगीत क्षेत्रमा बिशेष अवसर दिने उद्देश्यका साथ आयोजना भएको हो । यूवा कलाकारहरुको समेत सहभागिता रहेको उक्त कम्पनीले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो । यो कार्यक्रम आयोजना टीममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् भने अन्य केहि कलाकर्मीले साथ दिईरहेका छन् ।

‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौ लगायत देशभरका दश शहरमा अडिशन हुनेछ । प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाण्डौ सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ-छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।

दश वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली चलचित्रमा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिईनेछ ।

काठमाण्डौ उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । दशवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौमा नै आयोजना हुने बताईएको छ ।

प्रतियोगिताको लागि यतिबेला काठमाण्डौ बाहिर पनि आवेदन वितरण भईरहेको छ । प्रतियोगितामा सहभागि हुनको लागि एसएमएस मार्फत पनि आवेदन दिन सकिनेछ । त्यसको लागि SMS बक्समा गई ‘Empror Your Name, age, gender and location’ टाइप गरी 31003 मा पठाउनु पर्नेछ । साथै, दशवटै शहरका विभिन्न स्थानहरुबाट समेत आवेदन फारम प्राप्त हुने बताईएको छ ।