‘मिस्टर झोले’ बनेका दयालाइ हेर्न दर्शकको उपस्थिति उत्साहजनक


सेलिब्रेटी नेपाल काठमाडौँ

शुक्रवारबाट प्रदर्शनमा आएको ‘मिस्टर झोले’को ओपनिङ सुखद रहेको वितरकले बताएका छन् । शुक्रवार बढ्दो चिसोको कारण विहानीको शोमा अलिक कम दर्शक उपस्थित भए पनि दिउसोको शो मा उलेख्य दर्शक रहेको वितरक गोविन्द शाहीले जानकारी दिए । शाही भन्छन ‘पुषको कठ्यांग्रीदो जाडोमा पनि ‘मिस्टर झोले’ हेर्ने दर्शकको उपस्थिति उत्साहजनक देखिन्छ । काठमाण्डौ बाहिर पनि चलचित्रको ओपनिङ गजब छ ।’

नायक दयाहाङ राई र निर्देशक रामबाबु गुरुङको क्रेजका कारण पनि ‘मिस्टर झोले’ हेर्न हलमा दर्शकको भीड लागेको वितरक शाही बताउँछन् । सिंगलभन्दा ‘मिस्टर झोले’ हेर्ने दर्शक मल्टिप्लेक्समा दर्शक बढी छन् । यस्तै, राजधानीका ठुला मानिने सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट रहेको हल सञ्चालकहरुबाट रिपोर्ट प्राप्त भएको छ । निर्देशक गुरुङका अनुसार, चलचित्र हेरेका अधिकांश दर्शकहरुले कथावस्तु र कलाकारहरुको अभिनय रुचाएका छन् ।

रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।
टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । रामबाबु गुरुङको लेखन र निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।