५० लाखभन्दा बढी फलोवर्स भएका मार्समेलो प्रस्तुतिको प्रबन्ध ठगीको धन्दा कि के ?


सेलिब्रेटी नेपाल काठमाडौँ
विख्यात अमेरिकी डीजे मार्समेलो नआउँदा बुधबार मध्यरात नारायणहिटीपथस्थित ‘क्लब डेजाभु’ रणभूमि बन्यो। मार्समेलोजस्तै देखिने हुलियाको खोजी भइरहेको छ। उनको नाम बेचेर दुई करोड ठगी गरिएको प्रहरीको दाबी छ। नाइट क्लब डेजाभुमा पूर्वनिर्धारित समयमा ६ घन्टासम्म कुर्दा पनि डीजे मार्समेलो नआएको आयोजकले मध्यरात जानकारी दिएपछि दर्शकहरूले तोडफोड गरेका हुन्। भागाभाग भयो। उनलाई ल्याउने भन्दै महँगो टिकट बिक्री गर्नमा संलग्न भएको अभियोगमा सात जना अहिले ठगी अभियोगमा प्रहरी हिरासतमा छन्। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी भन्छन्, ‘मार्समेलोको वास्तविक नाम के हो भन्ने नै थाहा भएन। कसले भन्न सक्छ वास्तविक नाम ? प्रस्तुति दिने समयमा कहाँ थियो ? उसको वास्तविक हुलिया आदिबारे अनुसन्धानकै क्रममा छौं।’

मार्समेलोले डेजाभुमा आफ्नो प्रस्तुति देखाउन नपाएकोमा क्षमा माग्दै गरेको ट्विटलाई प्रहरीले अनुसन्धान गर्दै छ। ज्वरोका कारण बिरामी परेकोले डाक्टरको सल्लाहबमोजिम उपस्थित हुन नसकेको जनाउँदै उनले क्षमा मागेका छन्। फुड प्वाइजनिङ भएको दाबी मार्समेलोले गरेका छन्। उनले ट्विटरमार्फत भने, ‘प्र्रस्तुतीका लागि आउन कोसिस गर्दा डाक्टरले आउन दिएनन्। स्वास्थ्य पहिला हुन्छ। बुझिदिनु भएकोमा धन्यवाद। आशा छ, तपाईंहरूसँग भेटन आउनेछु।’

उनी भेट्न कहिले आउँछन् ? त्यो निश्चित छैन तर प्रहरी भने उनको बारेमा अनुसन्धानको प्रारम्भिक चरणमा व्यस्त छ।

अवैध प्रस्तुति, बयान फेर्दै अभियुक्त

मार्समेलोको प्रस्तुतिका लागि आयोजकले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन। सुरक्षा प्रबन्धका लागि प्रहरीसँग कुनै सहकार्यसमेत नभएको अपराध महाशाखाका प्रमुख एसएसपी लोहनी बताउँछन्।

प्रहरीले आयोजक र क्लबका सञ्चालकसहित सात जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। जिल्ला अदालत काठमाडौंमा अभियुक्तलाई शुक्रबार पेस गरिएकोमा म्याद थप लिई अनुसन्धान अघि बढाइएको एसएसपी लोहनी बताउँछन्। उनी भन्छन्, ‘लसएन्जलसमा पनि मार्समेलोको नाममा अपरिचित व्यक्तिलाई ल्याएर ठगिएको सूचना पाएका छौं। पुष्टि हुन बाँकी छ। त्यसको सिरिज नेपाल पनि हो कि भन्ने शंका छ।’

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘पक्राउ परेकाहरूले मार्समेलोलाई बोलाउन आफ्नो कुनै भूमिका नभएको बयान गरेका छन्। टिकट बेच्ने मात्र आफ्नो भूमिका भएको बताएर पन्छिन खोजेका छन्।’ क्लबका सञ्चालकहरू नेपाली अन्डर १९ क्रिकेट टिमका पूर्वकप्तान पृथु बास्कोटा, जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठविरुद्ध ठगी मुद्दा दायर गरिँदैछ। त्यस्तै, आयोजकहरू रितेश मारवाडी र राजेश महर्जनलाई पनि सोही अभियोग लगाइने एसएसपी लोहनी बताउँछन्।

क्लबमा १५ सय दर्शक अट्ने क्षमता छ। तर, टिकट भने सात हजार बिक्री गरिएको अनुसन्धानका क्रममा खुल्न आएको छ। दुई हजार पाँच सयदेखि पाँच हजारसम्मको टिकट बिक्री गरिएको छ। एसएसपी लोहनी थप्छन्, ‘क्षमता अनुसारको टिकट बिक्री नगर्नु नै ठग्ने नियत हो। जुन कलाकार ल्याउँछु भनी जुन प्रकृतिले प्रचार गरियो तर ल्याउन नसकेर जनतालाई ढाँट्ने र ठग्ने काम भएको छ।’

महँगा मार्समेलो भेट्न किन मरिहत्ते ?

दर्शकदीर्घामा प्रस्तुत हुँदा शिरमा हेल्मेट लगाएर उपस्थित हुने डीजे मार्समेलो दुई वर्षयता चर्चामा छन्। टाउकोसम्म छोपिएको हेल्मेट र सेतो पोसाकमा सजिएर स्टेज तताउन उनी माहिर मानिन्छन्। स्टेजमा मार्समेलोको नामबाट चिनिए पनि वास्तविक नाम भने गोप्य नै छ। मार्समेलोको शैलीलाई अमेरिकन डीजे क्रिस्चियन कमस्टकले पछ्याएका छन्। सन् २०१५ देखि उनी संसारभरका दर्शक÷स्रोतामाझ परिचित हुन पुगेका हुन्। भोकल, रिमिक्स ट्र्यापमा उनी पोख्त मानिन्छन्।

विश्वका धनी व्यक्तिहरूको नाम सार्वजनिक गर्ने फोब्र्स पत्रिकाका अनुसार, उनी विश्वका सर्वाधिक महँगा डीजेमा पर्छन्। उनले यस वर्ष झन्डै २१ मिलियन डलर कमाएको फोब्र्सले जनाएको छ। मार्समेलोको नाम भजाएर नेपाली युवाहरूलाई ठगी गर्न उनको नाममा आयोजकले टिकट बिक्री गरेको हुनसक्ने महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकृत बताउँछन्।

उनी भन्छन्, ‘मार्समेलोलाई धेरै रकम उपलब्ध गराउने आश्वासन नेपालका आयोजकले दिए तर अन्त्यमा थोरै रकममा नेपाल आउन नसकेपछि सम्झौता तोडिएको हुन सक्छ। क्रेजी युवाहरूलाई अल्मल्याएर कमाउने नियत आयोजकको देखिन्छ।’ तर, यसबारे मार्समेलो ट्विटरमा कुनै कुरा प्रस्ट पारेका छैनन्। उनले नेपालमा प्रस्तुति नदिनुको पछाडि फुड प्वाइजनिङ भएको दाबी गरेका छन्।

उनको म्युजिक शैली हेभी इलेक्ट्रोनिक डान्स गर्ने खालको रहने गरेको छ। ट्विटरमार्फत जानकारी दिन रुचाउने मार्समेलोले एक वर्षयता अमेरिका, चीन, दक्षिण कोरिया, भारत र पारग्वेमा आफ्नो प्रस्तुति दिइसकेका छन्। पहिलो गीत ‘वेभ्ज’बाट चर्चामा आएका मार्समेलो मुखुण्डो आकारको मास्क लगाउने गर्नाले पनि चर्चामा छन्। गत वर्ष उनले जोय टाइम नामक एल्बम बजारमा सार्वजनिक गरेका थिए। उनको फेसबुक, ट्विटर, र इन्स्टाग्राममा पछ्याउनको संख्या ५० लाखभन्दा बढी छ।

आजको अन्नपूर्णबाट जस्ताको तेस्तै