मनोज गजुरेल स्टारर ‘सयकडा दश’ प्रदर्शन मिति घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ अब प्रदर्शनका लागि तयारभएको छ । मनोज गजुरेल स्टारर सोसल ड्रामाले माघ १८ गतेलाई प्रदर्शन मिति तोकेको छ । शनिबार ललितपुर हात्तिवनमा आयोजित समारोहमा निर्माताले मिति घोषणा गरे । उक्त अवसरमा स्थानीय मानव सेवा आश्रमका दुई दर्जन वृद्धवृद्धा र अशक्तलाई भोजन र सरसफाइका सामाग्री प्रदान गरियो ।

‘चलचित्रले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले चलचित्र गरेको हुँ’ आफ्नो डेब्यु चलचित्रबारे गजुरेलले भने, ‘बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले चलचित्रलाई अझ जीवन्त तुल्याएको छ ।’

रंगमंच अभिनयले चलचित्र करियरमा सजिलो भएको उनले उल्लेख गरे । ‘चलचित्रको अन्तर्य प्रेम मात्र होइन, भ्रष्टाचारले प्रेमदेखि परिवारमा पार्ने प्रभाव समेत हो’ उनले बताए, ‘मलाई पहिले जति फिल्म अफर आए, ती सबै सूत्र शैलीमा थिए, सयकडा दश नितान्त भिन्न छ ।’

अभिनेता राजाराम पौडेलले सयकडा दशलाई आफ्नो चलचित्र करियरकै सर्वोत्कृष्ट चलचित्रको रुपमा व्याख्या गरे । ‘मैले करियरमा जति चलचित्र खेलेँ, तीमध्येको उत्कृष्ट हो’ उनले सुनाए, ‘चलचित्र हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन् ।’

रामशरण पाठक निर्देशित चलचित्रले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा बोल्छ । पौडेल र गजुरेलसहित अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको चलचित्रलाई पाठकले नै लेखेका हुन् ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि चलचित्रको प्रबर्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले बताए ।