मह जोडीको ‘दाल भात तरकारी’ औपचारिक घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

मह संचारको ब्यानरमा नयाँ चलचित्र ‘दाल भात तरकारी’ बन्ने भएको छ । किरण केसी प्रस्तुतकर्ता रहने चलचित्रको बुधवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । चलचित्रलाई निर्माता तथा कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड चलचित्रमा सह-निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, नेपाली चलचित्र निर्देशन भने पहिलो हो । ‘दाल भात तरकारी’ मा मल्टिस्टारर कलाकारहरुको बाहुल्यता रहने छ । यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल,विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । मंसिर पहिलो साताबाट चलचित्रको छायांकन सुरु हुने बताईएको छ ।

वर्ष २०७६ को बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । शम्भुजित बाँस्कोटाको संगीत रहने चलचित्रका गीत हरिवंश आफैंले लेखेका छन् । मित्र डि गुरुङको सम्पादन रहने चलचित्रलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।